कांग्रेस महाधिवेशन : असोज २२ गते मतदान, तीन ठाउँमा केन्द्र तोकियो


काठमाडौँ। नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार आज साँझ ५ः०० बजेदेखि निर्वाचनको कार्यक्रम सुरु हुने छ। कटुवालका अनुसार आज साँझ ५ः०० बजे मतदाता नामावली प्रकाशन हुनेछ।

यसैगरी ५ः०० देखि ६ः३० बजेसम्म मतदाता नामावली प्रकाशनउपर दाबीविरोध, ६ः३० देखि ७ः३० सम्म दाबीविरोध उपर जाँचबुझ र बेलुका ८ः३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ।

यस्तै, असोज २० गते बिहान १०ः०० देखि दिउँसो ३ः०० बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता हुनेछ। सोही दिन अपरान्न ४ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ भने अपराह्न ४ः३० देखि साँझ ५ः३० बजेसम्म उम्मेदवारी दरखास्तमा दाबीविरोध, ५ः३० देखि ६ः३० सम्म दाबीविरोध उपर जाँचबुझ र बेलुका ७ः०० बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिने निर्वाचन कार्यतालिकामा उल्लेख छ।

यसैगरी असोज २१ गते बिहान ९ः०० बजेसम्म उम्मेदवारको नामावली फिर्ता लिने र उम्मेदवारी सच्याउन निवेदन दिने कार्यतालिका छ। सोही दिन बिहान १०ः०० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ। त्यसपछि असोज २१ गते उम्मेदवारले दिनभर प्रचारप्रसार गर्न पाउने छन्।

असोज २२ गते बिहान ७ः०० देखि साँझ ५ः०० बजेसम्म मतदानको कार्यक्रम तोकिएको केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव कटुवालले जानकारी दिए। मतदानका लागि तीन स्थान तोकिएको छ। राष्ट्रिय सभागृहमा बागमती प्रदेश भित्रका मतदाताहरुले मतदान गर्न पाउनेछन् ।

यसैगरी खुल्लामञ्चमा कोशी प्रदेश, मधेस प्रदेश, कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश तथा भातृ एवम् शुभेच्छुक संस्था तथा जनसम्पर्क समितिबाट प्रतिनिधि भएकाहरुले मतदान गर्न पाउने व्यवस्था गरिएको छ।

प्रज्ञा भवनमा तोकिएको मतदान केन्द्रमा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका प्रतिनिधिहरुले मतदान गर्न पाउनेछन् । मतदान सकिएपछि मतगणना गरिने निर्वाचन समितिले जनाएको छ।