नयाँ राजनीति कि नयाँ नौटंकी ? (भिडियोसहित)


काठमाडौँ । आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनको माहोल तातेको छ । निर्वाचन नजिकिँदै गर्दा दल र दलका उम्मेदवारहरु घरदैलो अभियानमा व्यस्त छन् । अरु दलको भन्दा राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियान वरिष्ठ नेता बालेन साह र केही उम्मेदवारका कारण बढी चर्चामा छ । बालेन बोल्दैनन् घण्टीमात्र बजाउँछन् त्यसैले चर्चामा छन् । तर रास्वपाका केही उम्मेदवार भने बोलेकै कारण बढी चर्चामा छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी समानुपातिक सांसदकी उम्मेदवार रिमा विश्वकर्मा चुनावी प्रचारप्रसारको क्रममा स्याङ्जा पुगेकी थिइन् । स्याङ्जामा उनले भाषणको क्रममा त्यहाँका जनताले बहुमतका साथ रास्वपाका उम्मेदवारलाई जिताए चुनावपछि रवि र बालेनलाई यस क्षेत्रमा ल्याउने वाचा गरिन् । उनले भनिन्, ‘म यहाँहरूलाई यसै ठाउँबाट यसै समयमा एउटा वाचा गर्न चाहन्छु। स्याङ्जाको क्षेत्र नम्बर १ र २ बाट तपाईंहरूले हामीलाई बहुमतका साथ विजयी गराउनु भयो भने पार्टीका सभापति रवि लामिछाने र देशका प्रधानमन्त्री श्री बालेन साहलाई स्याङ्जामा ल्याउने वाचा मैले अहिले नै गरेँ ।’

हेर्नुस् भिडियो

त्यस्तै बाँके क्षेत्र नम्बर ३ का रास्वपाका उम्मेदवार खगेन्द्र सुनार पनि विवादित अभिव्यक्तिका कारण उनी र पार्टीसमेत चर्चामा छ । सुनारले राष्ट्रिय जनावर गाईको विषयमा दिएको अभिव्यक्ति विवादित बनेको थियो ।

हेर्नुस् सुनारको विवादित अभिव्यक्ति

सुनारले विवादित अभिव्यक्ति दिएको भन्दै उनलाई पार्टीबाटसमेत निस्कासन गर्न भन्दै आवाज उठ्यो । आलोचना खेप्न नसकेपछि सुनारले माफी मागे । सुनारले आफू “शाकाहारी भएको, कुनै पनि पशु–पंक्षी हत्याको पक्षमा नरहेको र राष्ट्रिय जनावर गाईप्रतिको सम्मानमा कुनै द्विविधा नरहेको भन्दै माफी मागे ।

हेर्नुस् माफी मागेको भिडियो

उनले माफी मागेपछि पनि रास्वपाको आलोचना नरोकिएपछि यस विषयमा बोलेको छ । शुक्रबार महामन्त्री कविन्द्र बुर्लाकोटीले विज्ञप्ति जारी गरी रास्वपामा जोडिनु अगाडि सुनारले व्यक्त गरेको अभिव्यक्तिलाई लिएर समाजमा पर्न गएको अन्योल र धार्मिक–सांस्कृतिक भावनामा पुगेको चोटप्रति पूर्ण क्षमायाचना गरेका छन् । उनले पार्टीले उम्मेदवार सुनारलाई सो सम्बन्धमा सचेत गराउनुका साथै भविष्यमा आफ्ना अभिव्यक्ति र व्यवहारमा थप संयम, परिपक्वता र सार्वजनिक मर्यादा कायम राख्न ध्यानाकर्षण गराएको महामन्त्री बताए ।

मोरङ क्षेत्र नम्बर २ बाट रास्वपाको टिकट पाएका कृष्णकुमार कार्कीका कारण पनि रास्वपा चर्चामा छ । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा भएको तोडफोड र आगजनीमा कार्की संलग्न रहेको आरोप छ । संसद भवन तोडफोड र आगजनीका दृश्यहरू कार्कीले आफैँ सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए, ती दृश्यहरू अहिले पनि फेसबुक र टिकटकमा भाइरल भइरहेका छन् । कार्की बालेन टिमबाट उम्मेदवार बनेको बताइन्छ । कार्कीलाई उम्मेदवार बनाएकोमा जेनजीहरुबाटै विरोध भएको छ । ‘देश जलाउने विध्वंसकारी’लाई उम्मेदवार बनाइएको भन्दै विरोध भएको हो ।

अरु त अरु जेनजी अगुवा हुँदै रास्वपा प्रवेश गरेका सुदन गुरुङका कारण पार्टी र उनी चर्चित बनेका छन् । गोरखा क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका सुदनलाई भीमसेन थापाको जन्मस्थान गोरखा भन्नेसमेत भर्खर थाहा भएछ । अनि मतियार र मुख्तियार भन्ने पनि थाहा रहेनछ । उनले भीमसेन थापालाई मतियारसमेत भन्न भ्याए ।

हेर्नुस् भिडियो

मतियार भनेको एउटै मतमा मिलेका व्यक्ति, जानाजान मुख्य अपराधीसँग अपराध गर्नमा सरिक हुने व्यक्ति, अपराध गर्न सहयोग गर्ने व्यक्ति, कसैलाई कुनै खराब काम गर्न प्रेरित गर्ने भनिन्छ । त्यस्तै, मुख्तियार शाहकालिन नेपालको सर्वोच्च भारदारको पद थियो। यस पद प्रशासनिक एवम् सैनिक शक्तिको सर्वोच्च निर्देशन केन्द्र थियो । यो आधुनिक प्रधानमन्त्री सरहको पद थियो । मुख्तियार शब्दको संरचना मुख्य र अख्तियार दुई शब्दमा हुन्छ। मुख्यको अर्थ प्रमुख र अख्तियारको अर्थ शक्ति हुन्छ । त्यसैले मुख्तियार देशको प्रमुख शक्ति अर्थात् प्रधानमन्त्री हो । नेपालमा मुख्तियार पदमा आसिन पहिलो व्यक्ति राजा रणबहादुर शाह हुन् । राजगद्दीको त्याग गरेपश्चात उनले सत्ता हत्याउन मुख्तियारको उपाधि लिएका थिए। उनको देहान्त पछि भीमसेन थापाले यस पदको उपयोग गरेका थिए ।

एकातिर ‘पुराना दल खत्तम भए’ भन्ने भाष्य निर्माण गरिएको छ भने अर्कोतिर नयाँको ताल हेर्नु त यस्तो छ । राजनीतिक ज्ञान, अध्ययन, संघर्ष र समाज बुझ्ने चेत केही नचाहिने रहेछ जनताको नेतृत्व गर्न । हवल्दारको योग्यता नपुग्नेदेखि, कार्यालय सहयोगी र कसैको पीएसम्मलाई सांसद हुने भूत चढेको छ। यस्तो लाग्छ नेपालमा सबैभन्दा सस्तो व्यापार राजनीति हो, जसबाट नामसँगै दाम अथाह कमाउन सकिन्छ । रिमा, खगेन्द्र र सुदन त केही उदाहरण हुन् । यस्ता धेरै पात्र विभिन्न दल तथा स्वतन्त्ररुपमा निर्वाचनमा उम्मेदवार बनेका छन् । हामीले यस्तै चेत भएकालाई सदनमा पठाउने कि राजनीतिक चेत भएकालाई ?