नेपाल मुक्तक प्रतिष्ठानद्वारा तेह्रौँ वार्षिकोत्सव तथा मुक्तक दिवस भव्य रूपमा सम्पन्न


काठमाडौं । नेपाल मुक्तक प्रतिष्ठानले तेह्रौँ वार्षिकोत्सव सम्पन्न गरेको छ । प्रतिष्ठानले मुक्तक दिवसको अवसर पारेर भीमदर्शन मुक्तक पुरस्कार र कृष्ण–रत्न–चेतन मुक्तक पुरस्कार समर्पण तथा कृति लोकार्पण समारोह समेत भव्य रूपमा सम्पन्न गरेको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा साहित्य, समालोचना र मुक्तक विधाका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा ५१ हजार राशिको भीमदर्शन मुक्तक पुरस्कार साहित्यकार उषा शेरचनलाई र ३१ हजार राशिको कृष्ण–रत्न–चेतन मुक्तक पुरस्कार मुक्तककार डा. रूपक श्रेष्ठलाई प्रदान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले मुक्तक विधालाई समाजको संवेदनशील र अति सुक्ष्म साहित्यिक अभिव्यक्तिको प्रभावकारी माध्यमका रूपमा व्याख्या गरे । उनले भने, ‘मुक्तक समाजलाई थोरै शब्दमा धेरै कुरा भन्न सक्ने शक्तिशाली विधा हो । आजको तीव्र गतिको समाजमा मुक्तकले विचार, पीडा, आशा र दर्शनलाई सटिक रूपमा व्यक्त गर्न सक्छ।’

कार्यक्रमको अध्यक्षता नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले गरेका थिए । उनले मुक्तक विधाको सौन्दर्य र गहिराइलाई सरल रुपमा व्याख्या गर्दै भने, ‘थोरैमा धेरै र बिन्दुमा सिन्धु अटाउने साहित्यिक विधा नै मुक्तक हो । यसले सीमित शब्दभित्र असीमित भाव अटाउन सक्छ ।’

भीमदर्शन मुक्तक पुरस्कारबाट सम्मानित साहित्यकार उषा शेरचनले आफ्नो मन्तव्यमा मुक्तकलाई जीवनको अनुभूति र अनुभवको सूक्ष्म अभिव्यक्ति भएको बताइन । मुक्तकले जीवनका गहिरा अनुभूति, पीडा र प्रेमलाई सानो आकारमा पनि गम्भीर रूपमा बोकेको हुन्छ । शेरचन भन्छिन, यस सम्मानले मुक्तक विधाप्रतिको मेरो जिम्मेवारी अझ बढाएको छ ।

समारोहमा मुक्तककार डा. रूपक श्रेष्ठका कृतिहरू चौशुल, पाेख्तक अंग्रेजी संस्करण तथा नेपाल मुक्तक प्रतिष्ठान बेलायत शाखाद्वारा प्रकाशित ईलिंग स्मारिकाको संयुक्त रूपमा विमोचन गरिएको थियो । कृतिको विमोचनपछि मन्तव्य दिँदै डा. श्रेष्ठले मुक्तकलाई आत्मअनुशासन र चेतनाको अभ्यासका रूपमा वर्णन गर्दै मुक्तक लेखन शब्दको खेल मात्र होइन, चेतनाको अनुशासन हो । यसले लेखकलाई जिम्मेवार र पाठकलाई संवेदनशील बनाउँछ ।’

कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठानका सल्लाहकार प्रा.डा. लक्षमणप्रसाद गौतम, प्रतिष्ठानका पूर्व महासचिव रमेश पौडेल, समालोचक केशव सिग्देल लगायतले आफ्ना धारणा राख्दै नेपाली मुक्तकको विकास, विस्तार र अन्तर्राष्ट्रिय पहिचानबारे विचार व्यक्त गरेका थिए । प्रतिष्ठानका उपाध्यक्ष राधेश्याम लेकालीले स्वागत मन्तव्य राखेका थिए भने कायक्रमको सञ्चालन महासचिव यादव भट्टराइले गरेका थिए ।

कृति विमोचन, पुरस्कार समर्पण र मुक्तक पाठसहित सम्पन्न कार्यक्रमले नेपाली मुक्तक साहित्यको वर्तमान अवस्था र सम्भावनालाई सशक्त रूपमा उजागर गरेको सहभागीहरूको धारणा थियो । नेपाल मुक्तक प्रतिष्ठानले आगामी दिनमा पनि मुक्तक विधाको प्रवर्द्धन, अनुसन्धान र अन्तर्राष्ट्रिय सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।