काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू पुराना नेताको भीडमा नरहेको बताएका छन् ।
आइतबार सामाजिक संजालमार्फत भिडियो सन्देश जारी गरी प्रचण्डले आफू पुराना नेताको भीडमा नरहेको र सत्ताको लोभमा पनि नरहेको बताएका हुन्।
उनले भनेका छन्, ‘आजको यो घडी मेरा लागि केवल सत्ताको कुरा होइन, यो त यो देशको भविष्य र विशेष गरी मेरा युवा साथीहरू, जेनजी छोराछोरीहरूको सपनाको कुरा हो । धेरैलाई लाग्न सक्छ म र म जस्ता पुराना नेताहरू एउटै हुन्, तर म आज यो सार्वजनिक मञ्चबाट प्रस्ट भन्न चाहन्छु, म ती पुराना नेताहरूको भीडमा छैन । म त्यो सत्ताको भागबन्डाको सम्झौतामा कहिल्यै सहभागी हुन चाहन्नँ ।’
उनले आफू अरु भन्दा फरक रहेको प्रमाणित गरेर छाड्ने बताए । उनले भनेका छन्, ‘म फरक छु र म यो प्रमाणित गरेरै छाड्नेछु, मेरो काम र निष्ठालाई आज होइन, भोलिको समयले प्रमाणित गर्नेछ।’
उनले सन्तान, जीवनसंगीनी र सहयोद्धाहरू गुमाएपछि अब सत्ताको लोभ नभएको बताएका छन्। उनले भनेका छन्, ‘एउटा मान्छेले आफ्नो जीवनमा जेजति गुमाउन सक्छ, मैले ति सबै गुमाए। तर मलाई के कुराले अगाडि बढ्न प्रेरित गर्छ भने यो संघर्ष मेरो व्यक्तिगत होइन। यो ती हजारौं सहिदहरूको सपना पूरा गर्ने यात्रा हो ।’
उनले राजनीतिक स्थिरता र विकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्नेमा जोड दिएका छन् । नयाँ पुस्तालाई सधैँ स्वागत गर्ने भन्दै प्रचण्डले हरेक चम्किलो चिज हीरा नहुने बताए ।

प्रतिक्रिया