काठमाडौं । भारत सरकारले नेपाललाई दिँदै आएको वार्षिक अनुदान रकममा वृद्धि गरेको छ । भारतका वित्तमन्त्री निर्मला सीतारमणले आइतबार संसदमा पेस गरेको आर्थिक वर्ष सन् २०२६–२७ को केन्द्रीय बजेटमा नेपालका निम्ति ८०० करोड भारु (१२ अर्ब ८० करोड नेपाली रुपैयाँ) विनियोजन गरिएको छ ।
यो रकम गत आर्थिक वर्षको तुलनामा १०० करोड भारुले बढी हो । सन् २०२६–२७ का लागि भारतले विदेश सहायतका लागि ५ हजार ४८३ करोड भारु बजेट छुट्याएको छ । जसमध्ये नेपालका लागि भारतले ८०० करोड भारु बजेट छुट्याएको छ ।
भारतले छिमेकी देश बंगलादेशका लागि भने आर्थिक सहायतामा ठूलो मात्रामा कटौती गरेको छ । अघिल्लो आर्थिक वर्षका लागि १२० करोड भारु छुट्याएकोमा यस वर्ष ५० प्रतिशतलेनै कटौती गर्दै जम्मा ६० करोड भारु मात्र सहायता छुट्याएको छ ।
यसले भारत–बंगलादेशबीचको बढ्दो तनावलाई राम्रै संकेत गरेको छ । भारतले अर्को छिमेकी मुलुक भुटानका लागि भने आर्थिक सहायता बजेट बढाएको छ । भुटानलाई भारतले २ हजार २८८ करोड भारु सहायता उपलब्ध गराउने भएको छ । यो रकम यस आर्थिक वर्षको भन्दा धेरै हो ।

प्रतिक्रिया