काठमाडौँ । उज्यालो नेपाल पार्टी अध्यक्ष एवम् पूर्वउर्जामन्त्री कुलमान घिसिङले नयाँ राजनीतिक संस्कारमा काम, परिणाम र जवाफदेहिता रहनु पर्ने बताएका छन् ।
बिहीबार सामाजिक संजालमार्फत घिसिङले आफूहरु भाषणमा नभई काममा विश्वास गर्ने बताएका हुन् । उनले तराई/मधेशको लाइफलाइनका रूपमा रहेको हुलाकी राजमार्गअन्तर्गत सिराहा–धनुषा सीमामा पर्ने कमला नदीमा पुल निर्माणको काम अघि बढेको बताएका छन् ।
उनले भनेका छन्, ‘तराई/मधेशको लाइफलाइनका रूपमा रहेको हुलाकी राजमार्गअन्तर्गत सिराहा–धनुषा सीमामा पर्ने कमला नदीमा अस्थायी डाइभर्सन निर्माण भएको छ । गत मंसिर ५ गते उक्त स्थानको स्थलगत निरीक्षण गर्दा १४ वर्षसम्म पनि कमला पुल नबन्दा नागरिकले भोग्दै आएको सास्ती, जोखिमपूर्ण यात्रा र सवारीसाधनलाई लामो रुट प्रयोग गर्नुपर्ने बाध्यता देखियो । सोही अवस्थालाई मध्यनजर गर्दै नदी रहेको स्थानमा ह्युम पाइप राखी अस्थायी रूपमा आवत–जावतको व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको थियो। निर्देशन मात्र होइन, कार्यान्वयन गरियो । अस्थायी डाइभर्सन सञ्चालनमा आएपछि स्थानीय बासिन्दा र यात्रुहरूलाई ठूलो राहत पुगेको थाहा पाउँदा खुसी लागेको छ।’
उनले नयाँ राजनीतिक संस्कार–काम, परिणाम र जवाफदेहिता यही भएको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘१४ वर्षदेखि अलपत्र परेको ४६९ मिटर लम्बाइको कमला पुल पनि अहिले निर्माण सम्पन्न हुने चरणमा पुगेको छ। स्थलगत भ्रमणकै क्रममा पुल निर्माण तथा पुनःस्थापनाको काम तत्काल अघि बढाउन, नियमित अनुगमन गर्ने र काम सन्तोषजनक नभए ठेक्का तोड्ने स्पष्ट चेतावनी दिइएको थियो । रुग्ण ठेक्का तोड्ने चेतावनी, कडा अनुगमन र सक्रिय हस्तक्षेपकै कारण आज कमला पुल सपना हैन –यथार्थ बन्दैछ। यही हो नयाँ राजनीतिक संस्कार–काम, परिणाम र जवाफदेहिता। हामी भाषणमा होइन, काममा विश्वास गर्छौं। हामी बहानामा होइन, परिणाममा विश्वास गर्छौं।’

प्रतिक्रिया