के छ गगन थापाको राजनीतिक प्रतिवेदनमा ?


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५ औं महाधिवेशनको बन्दसत्रमा आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका छन् । ४६ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा सभापति थापाले आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरेका छन् ।

प्रतिवेदनमा आत्मसमीक्षादेखि सरकारलाई खबरदारी, निर्वाचनपूर्व गठबन्धन नगर्ने नीति, पार्टीको पुनर्संरचना, निजी क्षेत्रसँग सहकार्य, युवा सहभागिता र ‘समुन्नत नेपाल, सम्मानित नेपाली’को अवधारणासम्म समेटिएको छ ।

त्यस्तै, प्रतिवेदनमा कांग्रेसले पछिल्ला दुई दशकमा आफ्नो मूल उद्देश्यभन्दा पद र सत्तालाई प्राथमिकता दिएको स्वीकार गरिएको छ । गठबन्धन व्यवस्थापन, भागबन्डा, गुटबन्दी र लेनदेनको राजनीतिले पार्टीको नैतिक धरातल कमजोर बनाएको तथा भ्रष्टाचार र अनियमिततामा आफ्नै पक्षका व्यक्तिलाई संरक्षण गर्ने प्रवृत्तिले सार्वजनिक संस्थाको स्वायत्तता कमजोर बनाएको उल्लेख छ ।

यस्तै प्रतिवेदनमा गठबन्धन व्यवस्थापन, भागबन्डा, गुटबन्दी र लेनदेनको राजनीतिले पार्टीको नैतिक धरातल कमजोर बनाएको तथा भ्रष्टाचार र अनियमिततामा आफ्नै पक्षका व्यक्तिलाई संरक्षण गर्ने प्रवृत्तिले सार्वजनिक संस्थाको स्वायत्तता कमजोर बनाएको उल्लेख छ । सभापति थापाले राजनीतिक उतारचढाव र चुनौतीका बाबजुद कांग्रेसले समाजलाई एकताबद्ध बनाउने तथा द्वन्द्व व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्ले गरेका छन् । उनले कांग्रेसले विभिन्न समुदाय र पहिचानलाई राजनीतिक मूलधारमा जोड्दै सामाजिक द्वन्द्व न्यूनीकरणमा योगदान गरेको बताए । उनले भनेका छन्, ‘समाजलाई जोड्ने काम कांग्रेसले गरेको छ। पहिचान भेटिने र द्वन्द्व मेटिने काम कांग्रेसले नै गरेको छ ।’