कांग्रेस प्रवक्ता भन्छन्-पुरानै पार्टीबीच चुनावी प्रतिस्पर्धा हुन्छ भन्ने लाग्छ


काठमाडौँ । नेपाली कांग्रेसले बागी उम्मेदवारी दिएका उम्मेदवारहरुलाई आफ्नो उम्मेदवारीलाई निष्कृय गर्न निर्देशन दिएको छ ।

मंगलबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी कांग्रेसले केही स्थानमा पार्टीबाट विद्रोह गरेर छुट्टै उम्मेदवारी दर्ता गराएको अवस्थामा आफ्नो उम्मेदवारीलाई निष्कृय गर्दै पार्टीको आधिकारिक उम्मेदवारर्लाइ सहयोग गर्न निर्देशन दिएको जनाएको हो ।

पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता देवराज चालिसेले छोटो समयका कारण टिकट वितरणमा केही कमजोरी भएको हुनसक्ने भन्दै त्यसलाई स्वीकार गरेर पार्टीको आधिकारिक उम्मेदवारलाई सघाउन निर्देशन दिइएको जानकारी दिए । उनले पार्टीमा देखिएका कमीकमजोरीलाई आगामी दिनमा सुधार गर्ने बताए ।

निर्वाचन केन्द्रित प्रचार प्रसारका लागि सातै प्रदेश र वडासम्म निर्वाचन परिचालन समिति बनाएर अघि बढ्न आवश्यक निर्देशन दिइसकेको उनले बताए । प्रवक्ता चालिसेले अगामी पाँच वर्षमा पार्टीको नेतृत्वमा देश निर्माण गर्ने योजनाका साथ घोषणापत्र निर्माण भइरहेको र केहिदिनभित्रै सार्वजनिक हुने उल्लेख गरे ।

उनले कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा मध्ये १०६ जना नयाँ उम्मेदवारलाई चुनावी प्रतिस्पर्धामा अघि सारेको जानकारी दिए । उनले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता जनाउँदै छुट्टै आन्तरिक आचारसंहिता समेत जारी गरेको बताए ।

उनले यसपटक प्रचारप्रसारमा डिजिटल क्याम्पेनिङलाई प्राथमिकता दिने रणनीति बनाएको पनि बताए। सामाजिक सञ्जाल र डिजिटल माध्यममार्फत मतदाता पहुँच विस्तार गर्ने योजना अनुसार प्रचार अभियान अघि बढाइने बताए । उनले हालै सम्पन्न विशेष महाधिवेशनले पार्टी पंक्तिमा नयाँ ऊर्जा र उत्प्रेरणा सिर्जना गरेको दाबी गरे ।

उनले आगामी निर्वाचनमा पुरानै पार्टीसँग प्रतिस्पर्धा हुने बताए । उनले भने, ‘मतदाताले भोट हालेर निर्धारण गर्ने कुरा पनि हो । तर, पुरानै पार्टीबीच प्रतिस्पर्धा हुन्छ भन्ने लाग्छ ।’

घोषणापत्रमा सुशासन, विकास, भविष्यप्रति यथार्थवादी तथा विश्वसनीय कार्यक्रम समावेश हुने उनले बताए । उनले घोषणापत्रले मुलुकको यथार्थ अवस्था चित्रण गर्दै सुशासन, विकास र व्यवहारिक कार्ययोजनालाई मुख्य आधार बनाउने बताए ।

कांग्रेसको घोषणापत्र केवल आकांक्षा र प्रतिबद्धतामा सीमित नहुने, त्यसलाई कार्यान्वयन गर्न आवश्यक स्रोत र उपायसमेत स्पष्ट रूपमा उल्लेख गरिने बताए । पार्टीले ल्याउने घोषणापत्रले हरेक नागरिकको मन छुने, सबै वर्ग, क्षेत्र र समुदायको भावना अटाउने प्रयास गर्ने बताए।