-उत्तमबाबु श्रेष्ठ
सन् १९५१ मा अमेरिकाका स्वार्थमोर कलेजका मनोवैज्ञानिक सोलमन आचेले १७ देखि २५ वर्ष उमेर समूहका १२३ जना कलेजका विद्यार्थीहरूबीच एउटा अनुसन्धान गरे । परीक्षणका क्रममा दुईवटा बोर्ड राखिएका थिए । पहिलो बोर्डमा एउटा रेखा (घर्सा) देखाइन्थ्यो भने दोस्रो बोर्डमा विभिन्न लम्बाइका तीनवटा रेखाहरू हुन्थे । (तलको फोटो)
उक्त परीक्षणमा एक पटकमा ७ देखि ९ जना व्यक्तिहरूलाई संलग्न गराइन्थ्यो। उनीहरूलाई पहिलो बोर्डमा देखाइएको रेखाको लम्बाइ दोस्रो बोर्डका तीनवटा रेखाहरूमध्ये कुनसँग बराबर छ भनेर सोधिन्थ्यो। सामान्यतया जोसुकैले पनि यसको सही उत्तर सजिलै दिन सक्थे।
तर, आचेले परीक्षणमा वास्तविक सहभागीसँगै आफ्ना सहयोगीहरूलाई पनि मिसाएर राखेका हुन्थे। ती सहयोगीहरूको काम जानाजानी गलत उत्तर दिनु थियो, जुन कुरा वास्तविक सहभागीलाई थाहा हुँदैनथ्यो । वास्तविक सहभागीको उत्तर दिने पालो अन्तिममा राखिएको हुन्थ्यो । नक्कली सहभागीहरूले नियोजित रूपमा गलत उत्तर दिएर वास्तविक सहभागीलाई दिग्भ्रमित पार्न खोज्थे । अनुसन्धानकर्ताको मुख्य उद्देश्य मानिसहरू समूहको दबाबमा परेर गलतै भएपनि बहुमतको कुरा मान्छन् कि मान्दैनन् भन्ने परीक्षण गर्नु थियो ।
वास्तविक सहभागीले यो चाल नपाऊन् भन्नका लागि उनलाई १८ पटकसम्म त्यही कुरा गर्न बोलाइन्थ्यो र फरक–फरक समूहमा राखेर परीक्षण गरिन्थ्यो । १८ मध्ये १२ वटा परीक्षणमा नक्कली सहभागीहरू मध्ये वहुमतलाई जानाजानी गलत उत्तर दिन लगाइएको थियो ।
अनुसन्धानको नतिजा अनुसार सहभागीमध्ये एक–तिहाइभन्दा बढी (३६.८ %) मानिसले समूहको लहैलहैमा लागेर बहुमतकै समर्थनमा गलत उत्तर दिए । ७६ % सहभागीले कम्तीमा एक पटक समूहको दबाबका कारण गलत उत्तर दिए । केही व्यक्ति त यस्ता थिए, जो सधैँ समूहकै उत्तर सही हो भन्दै बहुमतको पछि लागे । तर, केही यस्ता व्यक्ति पनि निस्किए जसले समूहले जे भने पनि आफ्नो विवेकले देखेको सधै साँचो उत्तर नै दिइरहे ।
अक्सर हामी मानिसहरूमा ‘भेडा प्रवृत्ति’ हुन्छ। हामी आफ्नो समूहले भनेको कुरा आँखा चिम्लेर मान्छौँ, चाहे त्यो गलत नै किन नहोस्। कहिल्यै रक्सी नखाने मान्छे पनि साथीभाइसँग बस्दा एक चुस्की लिन तयार हुन्छ, चुरोटको सर्को मार्न राजी हुन्छ। कसैले साइबर क्याफे खोलेमा अर्कोले त्यसैमा मात्र व्यापार देख्छ । संसारभर घरजग्गाको व्यापार होस्, सेयर कारोबार होस् वा चुनाव—हाम्रो यो ’भेडे मानसिकता’ जताततै देखिन्छ । किनभने हामी समुहमा विश्वास गर्छाैं ।
मान्छेको यही भेडे मनोवृतिलाइ फ्रेडरिक निचे (riedrich Nietzsche) ले दास मानसिकता भनेर छेडखानी गरेका थिए ।


प्रतिक्रिया