काठमाडौँ । । पूर्वप्रधानमन्त्री डा. केआई सिंहका छोरा यज्ञजित शाहले एमाले परित्याग गरेका छन् । उम्मेदवारी चयनमा उनी असन्तुष्टि जनाउँदै उनले पार्टी छाडेका हुन् । रुपन्देही– ३ मा वासुदेव घिमिरेलाई उम्मेदवार बनाएपछि शाह असन्तुष्ट थिए ।
अध्यक्ष ज्यू,
नेकपा एमाले,
केन्द्रीय कार्यालय, च्यासल, काठमाडौँ नेपाल ।
विषयः राजीनामा बारे ।
महोदय,
पार्टीको केन्द्रीय सचिवालय ले फाल्गुन २१, २०८२ मा हुन गैरहेको आमनिर्वाचनको लागि गरेको पार्टीका उम्मेदवार छनोटप्रति आफ्नो गहिरो असन्तोष र विरोध जनाउन चाहन्छु । कार्तिक २०८२ मा हुने भनिएको रुपन्देही–३ को उप चुनावमा मेरो नाम सिफारिश भएको थियो र दुई महिनामै के कारण ले त्यो सिफारिश अमान्य भयो जबकी अन्य दलहरुले तिनै उम्मेदवारलाई कायम राखेको छ । यहाँसम्म कि पौष २० गते को क्षेत्रीय समन्वय समितिको बैठकको जानकारी समेत मलाई नदिइ किन गुपचुप तरिकाले नामहरु सिफारिश गर्ने काम भयो जसको जानकारी २६ पौष, २०८२ मा मैले पार्टी केन्द्रीय कार्यालयलाई गराइसकेको थिएँ । रुपन्देही जिल्लाको यस निर्वाचन क्षेत्र नम्बर ३ मा म ४० वर्ष भन्दा बढी देखि बस्दै आएको छु र यहीँबाट चुनावमा उठ्ने मेरो इच्छा थियो । तर मलाई नसोधि किन अन्तिम समयमा मेरो नाम क्षेत्र नम्बर ४ को लिस्टमा थपेर सिफारिश गरेकोमा मेरो कडा आपत्ति छ । जुन क्षेत्र मा म वर्षौंदेखि राजनीतिक कार्यमा संग्लग्न छैन त्यहाँबाट मेरो नाम समावेश गर्नु एउटा षड्यन्त्र बाहेक केही होइन । साथै मलाई त्यहाँका साथीहरुको अभिलाषा र सपना कुल्चेर उम्मेदवार बन्नुमा कुनै दिलचस्पी छैन । म चाहन्छु कि त्यहींका योग्य व्यक्तिले अवसर पाउन र उनको सफलताको कामना पनि गर्छु । यहाँ सर्वविदित नै छ कि यो सब जालझेल र षड्यन्त्र पार्टी उपाध्यक्ष विष्णु पौडेलकै निर्देशन मा भएको थियो ।
स्मरण रहोस् यिनै पौडेलजी काठमाडौँमा मेरो घरमा आई अनेकन झूठा आश्वासन दिई मलाई हजुरको निवास बालकोट लगेका थिए । जहाँ यस्तै थप आश्वासन दिइ हजुरले मलाई पार्टीमा भित्राउनु भएको थियो । मैले आफ्नो जीवनको लगभग ९ वर्ष पार्टीको हितमा लगानी गरेको छु । म प्रतिनिधिसभाको निर्वाचित पूर्वसांसद मात्र नभएर देशभक्त नेता स्वर्गीय प्रधानमन्त्री डा.के.आई.सिंह को छोरा पनि हो । हजुरलाई एउटा राष्ट्रवादी नेता मानेर मैले विश्वास गरें र पार्टी मा समाहित भएँ । तर मेरो वर्षों को लगानी र मेहनत सब बालुवामा पानी हाले जस्तै भयो । पटक पटक प्रधानमन्त्री र पार्टी अध्यक्ष भएको व्यक्ति को बोलीको कुनै ठेगान नहुनु पार्टी र देशको लागि नै दुःखदायी कुरा हो । हिजो पार्टी छोडेर अन्य पार्टी मा गई तपाईंलाई नै तथानाम गाली गर्नेदेखि पार्टी परित्याग गरेका व्यक्तिहरुले एकाएक फेरि सांसदको टिकट पाउनु विडम्बनापूर्ण छ ।
पटक पटक पार्टी का हजारौं लाखौँ कार्यकर्ताहरुको मेहनत र लगन ले मन्त्री बनेका हरु आफ्नो निर्वाचन क्षेत्र छाडेर भाग्नु र “प्रजातन्त्र को प्राण नै निर्वाचन हो“ भनेर भाषण गरेर नथाक्ने तथाकथित नेता हरु खुसुक्क समानुपातिक वा राष्ट्रियसभामार्फत संसद छिर्नु लज्जास्पदक हो । यस्तै आपराधिक र भ्रष्ट पृष्ठभूमि भएका व्यक्तिहरुको पार्टीमा हालीमुहाली हुनु सबै असल पार्टी कार्यकर्ता हरुको लागि चिन्ताको विषय बनेको छ ।
मैले वर्षौं लगाएर अंग्रेजी साहित्य, अंग्रेजी भाषा र राजनीति शास्त्रमा हासिल गरेको उच्च शिक्षाले पनि पार्टी नेतृत्वको सामुन्ने कुनै माने राखेन । बाटो बिराएको पार्टीलाई फेरि हजुरले लिकमा ल्याउनु हुन्छ कि भनेर मैले गरेको विश्वासको कुनै आधार नै बाँकी रहेन । यिनै कुराहरुमा गहिरो मनन गरेर मैले अब पार्टीमा बस्नुको कुनै सार्थकता नरहेको निष्कर्ष निकाल्दै आजैको मिति देखि पार्टी को साधारण सदस्यताबाटै राजीनामा दिएको छु ।
यज्ञजित शाह, पूर्व सांसद, रुपन्देही ।

प्रतिक्रिया