अप्राकृतिक चुनावी गठबन्धन नगर्ने कांग्रेसको निर्णय


काठमाडौँ । नेपाली कांग्रेसले आगामी फागुन २१ को निर्वाचनमा अप्राकृतिक चुनावी गठबन्धन नगर्ने निर्णय गरेको छ ।

शनिबार बसेको केन्द्रीय समितिको बैठकले अप्राकृतिक र सत्ता केन्द्रित सम्झौता नगर्ने निर्णय गरेको हो । बैठकले एक्लै चुनावमा होमिने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

बैठकले निवर्तमान सभापति शेरबहादुर देउवाप्रति पार्टीमा पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अभिभावकीय भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ । प्रवक्ता चालिसेले चुनावको मुखमा पार्टीलाई संकटमा धकेल्ने काम कतैबाट हुन्न भन्ने विश्वास रहेको बताए ।

उनले पार्टीका अगाडि चुनौतीका पहाड रहेकाले एकतामा जोड दिने निर्णय भएको बताए । उनले भने, ‘जनतालाई नेपाली कांग्रेससँग जोड्नु छ । पार्टीको एकता र सद्भावलाई कायम राख्दै उचाइमा पुर्याउन अपील गर्ने निर्णय गरेको छ ।’

उनले प्रतिनिधिसभा निर्वाचन उम्मेदवारी दर्ताको समय नजिक आएकाले आफूहरू उम्मेदवार चयनको प्रक्रियामा लागेको जानकारी दिए ।

प्रवक्ता चालिसेले निर्वाचन आयोगले कांग्रेसको विधानअनुसार नै पार्टीलाई आधिकारिकता प्रदान गरिसकेकाले यस विषयमा मुद्दामामिला नगर्न अर्को पक्षलाई आग्रह गरिएको चालिसेले जानकारी दिए।