-डा. गोविन्दशरण उपाध्याय ।
मनुस्मृतिमा डिभोर्सको अग्राधिकार महिलासंग छ । यदि परदेश गएको लोग्ने दुई वर्षसम्म आफ्नो खबर दिँदैन र फर्केर पनि आउँदैन भने पत्नीले अर्को विवाह गर्न सक्छिन् । यसरी डिभोर्स कुनै एक्कासि हुने घटना होइन । यो लामो समयसम्म जम्मा हुँदै गएको असन्तुष्टि, संवादहीनता, अविश्वास, अहंकार र भावनात्मक दूरीको परिणाम हो । त्यसैले डिभोर्स न्यून गर्न चाहिने उपायहरू पनि सतही होइनन्, गहिरो सामाजिक, मनोवैज्ञानिक, सांस्कृतिक र नैतिक तहमा लागू हुनुपर्ने हुन्छ । नेपाली समाजमा डिभोर्स बढ्दै जानु केवल व्यक्तिगत असफलता होइन, बदलिँदो जीवनशैली, पारिवारिक संरचनाको कमजोर हुँदै गएको आधार र बैवाहिक सम्बन्धलाई ‘सम्झौता’ भन्दा ‘उपभोग’ का रूपमा हेर्ने दृष्टिकोणको परिणाम पनि हो ।
डिभोर्स न्यून गर्न सबैभन्दा पहिलो आवश्यक कुरा दाम्पत्यलाई केवल कानुनी सम्झौताका रुपमा होइन, दीर्घकालीन मनो–भावनात्मक साझेदारीका रूपमा बुझ्नु हो । विवाहपछि सुख, सुविधा र अधिकार मात्र होइन, जिम्मेवारी, धैर्य र परिपक्वताको अपेक्षा हुन्छ । आज धेरै दम्पती विवाहअघि रोमान्टिक कल्पनाले भरिएका हुन्छन् तर विवाहपछिको यथार्थ—आर्थिक संघर्ष, पारिवारिक दायित्व, स्वास्थ्य समस्या, समयको अभाव—स्वीकार गर्न तयार हुँदैनन् । यही अस्वीकारबाट झगडा सुरु हुन्छ र झगडाले संवादलाई विस्थापित गर्छ । संवाद हराएपछि सम्बन्धमा दूरी पैदा हुन्छ, र दूरीले अन्ततः डिभोर्सतर्फ धकेल्छ ।
डिभोर्स न्यून गर्न संवाद संस्कृतिको विकास अत्यन्त आवश्यक छ । धेरै दम्पतिहरू एकआपसमा समस्या हुँदा बोल्दैनन्, बोल्दा दोषारोपण गर्छन्, र दोषारोपण गर्दा चर्को शब्द प्रयोग गर्छन् । ‘तिमी सधैं यस्तै छौँ’, “तिमीले कुरा कहिल्यै बुझ्दैनौ’ जस्ता वाक्यहरूले समस्या समाधान होइन, मनमा घाउ बनाउँछन् । यसको सट्टा ‘मलाई यस्तो महसुस भयो’, ‘हामीले यसबारे शान्त रूपमा कुरा गर्नुपर्छ’ भन्ने शैली अपनाउन सके सम्बन्ध टुट्नबाट जोगिन सक्छ । बोलीचालीको शैली बदलिनु भनेको केवल भाषा होइन, दृष्टिकोण बदलिनु हो ।
डिभोर्सको अर्को ठूलो कारण अपेक्षाको असन्तुलन हो । पति–पत्नी दुवै एक–अर्काबाट पूर्णता खोज्न थाल्छन् । पति आर्थिक रूपमा बलियो, भावनात्मक रूपमा संवेदनशील, सामाजिक रूपमा सफल र पारिवारिक रूपमा जिम्मेवार होस् भन्ने अपेक्षा हुन्छ । पतिले चाहिँ पत्नी घरेलु, करुणामयी, आधुनिक तर संस्कारी, आत्मनिर्भर तर आज्ञाकारी होस् भन्ने चाहना राख्छ । यस्ता परस्परविरोधी अपेक्षाहरू पूरा नहुँदा निराशा जन्मिन्छ । डिभोर्स न्यून गर्न अपेक्षा होइन, यथार्थलाई आधार बनाउनुपर्छ । अपूर्ण मानिससँग पूर्ण सम्बन्ध सम्भव हुँदैन भन्ने स्वीकारोक्ति नै सम्बन्ध बचाउने पहिलो कदम हो ।
नेपाली समाजमा सासु–ससुरा, नन्द–आमा, जेठाजु–देवरानी जस्ता सम्बन्धहरू दाम्पत्य जीवनमा गहिरो प्रभाव पार्छन् । धेरै डिभोर्सको जड पति–पत्नीबीच होइन, तेस्रो पक्षको अनावश्यक हस्तक्षेपमा लुकेको हुन्छ । परिवारले संरक्षणको नाममा नियन्त्रण गर्न खोज्दा दम्पतीबीच अविश्वास पैदा हुन्छ । त्यसैले डिभोर्स न्यून गर्न परिवारका विचमा सम्बाद, समझदारी र प्रेम आवश्यक हुन्छ । विवाह भनेको दुई व्यक्ति मात्र होइन, दुई परिवार र लोग्नेस्वास्नीका बीचको समझदारी पनि हो भन्ने कुरा व्यवहारमै उतार्नुपर्छ ।
आर्थिक तनाव पनि डिभोर्सको महत्वपूर्ण कारण हो । बेरोजगारी, ऋण, असमान आय, खर्चको विवादले सम्बन्धलाई कमजोर बनाउँछ । तर समस्या पैसा होइन, पैसाप्रति दम्पतीको दृष्टिकोण हो । आर्थिक पारदर्शिता, संयुक्त योजना र साना–साना त्यागले ठूलो टकराव रोक्न सकिन्छ । पैसाका विषयमा लुकाउनुभन्दा खुलेर कुरा गर्नु डिभोर्स रोक्ने प्रभावकारी उपाय हो ।
डिभोर्स न्यून गर्न भावनात्मक बुद्धिमत्ताको विकास अपरिहार्य छ । रिस, ईष्र्या, शंका र निराशालाई कसरी व्यवस्थापन गर्ने भन्ने ज्ञान नभए सानो कुराले ठूलो विस्फोट गराउँछ । धेरै दम्पतीका लागि रिसको क्षणमा बोलेका शब्द जीवनभर पछुतो बन्ने गर्छन् । भावनालाई दबाउने होइन, सही तरिकाले व्यक्त गर्ने अभ्यासले सम्बन्ध जोगिन्छ । यसका लागि विवाहपूर्व र विवाहपछिको परामर्श (counslleing) लाई सामाजिक रूपमा सहज रूपमा स्वीकार्नुपर्छ । परामर्श लिनु कमजोरी होइन, सम्बन्धप्रतिको जिम्मेवारी हो ।
आजको डिजिटल युगमा मोबाइल, सामाजिक सञ्जाल र अनलाइन सम्बन्धहरूले पनि डिभोर्स बढाइरहेका छन् । पति–पत्नी एउटै कोठामा बसेर फरक–फरक स्क्रिनमा हराउँदा शारीरिक नजिकता भए पनि भावनात्मक दूरी बढ्छ । अनलाइन तुलना, शंका र आभासी सम्बन्धले वास्तविक सम्बन्धलाई कमजोर बनाउँछ । डिजिटल अनुशासन, समय व्यवस्थापन र एक–अर्काका लागि गुणस्तरीय समय निकाल्नु डिभोर्स न्यून गर्ने आधुनिक तर अत्यन्त आवश्यक उपाय हो ।
डिभोर्स न्यून गर्न दाम्पत्यमा क्षमाशीलता (forgiveness) को अभ्यास गर्नुपर्छ । गल्ती नहुने मानिस हुँदैन । तर आज गल्तीलाई सुधारको अवसर होइन, सम्बन्ध तोड्ने हतियार बनाइन्छ । क्षमा गर्नु कमजोरी होइन, परिपक्वता हो । क्षमा गर्न सक्ने दम्पतीहरूले सम्बन्धलाई नयाँ जीवन दिन सक्छन् । तर यसको अर्थ निरन्तर हिंसा, दमन वा अपमान सहनु होइन । स्वस्थ क्षमा र आत्मसम्मानबीच सन्तुलन आवश्यक छ ।
नेपाली सन्दर्भमा आध्यात्मिक र नैतिक मूल्यहरूले पनि डिभोर्स न्यून गर्न ठूलो भूमिका खेल्न सक्छन् । विवाहलाई केवल कानुनी सम्झौता होइन, जीवनयात्राको साधना ठान्ने दृष्टिकोणले दम्पतीलाई धैर्यवान बनाउँछ । सँगै प्रार्थना, ध्यान, वा साझा मूल्यमा आधारित जीवनशैलीले सम्बन्धलाई गहिरो बनाउँछ । जहाँ अर्थभन्दा अर्थपूर्णता महत्वपूर्ण हुन्छ, त्यहाँ सम्बन्ध दीर्घकालीन हुन्छ ।
बास्तवमा, डिभोर्स न्यून गर्न कानुनभन्दा लोग्नेस्वास्नीका विचमा चेतनाको सुधार आवश्यक छ । कानुनले सम्बन्ध तोड्न सजिलो बनाउन सक्छ, तर जोगाउन सक्दैन । सम्बन्ध जोगाउने काम शिक्षा, संस्कार, संवाद र संवेदनशीलताले मात्र सम्भव हुन्छ । विवाहपछि पनि सम्बन्धमा निरन्तर काम गर्नुपर्छ भन्ने चेतना विकास भएमा डिभोर्स स्वतः न्यून हुन्छ । दाम्पत्य भनेको ‘सबै ठीक भएपछि सँगै बस्ने’ होइन, ‘सबै कठिनाइसँगै सामना गर्ने’ निर्णय हो । यही दृष्टिकोण बलियो भयो भने डिभोर्स अपवाद बन्छ, सामान्य घटना होइन । कसैले पनि डिभोर्स चाहन्न तर डिभोर्स हुन्छ र आजीवन डिभोर्सको घाउ हिड्नु पर्छ । त्यस भन्दा डिभोर्सको अवस्था नै आउन नदिनु धेरै बुद्धिमानी हुन्छ । डिभोर्स गौरवको विषय होइन, घृणाको विषय बनोस् ।

प्रतिक्रिया