डेढ वर्षपछि यसरी निकालियो त्रिशूली नदीमा बालुवाले पुरिएको गणपति डिलक्सको बस


काठमाडौँ । त्रिशुली नदीको किनारमा बालुवाले पुरिएको अवस्थामा गणपति डिलक्सको बस फेला परेको छ । तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका–५ धोन्द्राङ बेसी नजिकै त्रिशुली नदीको किनारमा पुरिएको अवस्थामा बसको पाटपुर्जा फेला परेको हो ।

पाटपुर्जा देखिएको सो गाडी खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवन र नं. २३ मनकामना गण भानु तनहुँबाट खटिएका सुरक्षा फौजले बस फेला पारेको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

काठमाडौबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र वीरगंजबाट काठमाडौतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स २०८१ असार २८ गते बिहान पहिरोले पुरिएर चितवनको सिमलतालस्थित त्रिशुली नदीमा बेपत्ता भएका थिए ।

गणपति डिलक्समा सवार ३१ जनामध्ये ३ जनाले हाम फालेर ज्यान जोगाएका थिए भने २८ जना बेपत्ता भएका थिए । तीमध्ये १४ जनाको शव फेला परेको थियो । अन्य हालसम्म बेपत्ता छन् ।