संसद विघटनविरुद्धको मुद्दाको सर्वोच्चले छिटो फैसला गरोस्ः सभामुख घिमिरे


झापा । सभामुख देवराज घिमिरेले जेनजी आन्दोलनपछि देशको संविधान नै लिकभन्दा बाहिर गएको बताएका छन् । मंगलबार झापामा आयोजित पत्रकार सम्मेलनमा उनले संसद पुनस्र्थापना गरेर तत्कालीन आन्दोलनकारीका जायज मागहरू कानुन संशोधनमार्फत पूरा गर्दै निर्वाचनमा जानुपर्ने बताएका हुन् ।

उनले भने, ‘यसका लागि २ वटा विकल्पहरू अहिले हाम्रो सामु देखिएका छन् । पहिलो, संसद पुनस्र्थापना गरेर तत्कालीन आन्दोलनकारीका जायज मागहरू कानुन संशोधन मार्फत पूरा गर्दै निर्वाचनमा जाने र दोस्रो, अहिल्यै निर्वाचनमा जाने र नयाँ जनादेश लिने ।’

उनले यी २ मध्ये पहिलो विकल्प उपयुक्त हुने ठानेको भन्दै सर्वोच्च अदालतमा विचाराधीन रहेकाले छिटो फैसलाको अपेक्षा राखेको बताए । जेनजी आन्दोलन र विध्वंसले देशको मानवीयसँगै खर्बौँको सरकारी एवम् निजी भौतिक संरचना मात्र ध्वस्त नभएको भन्दै व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका समेत ध्वस्त भएको बताए।

ताजा जनादेशको विकल्प नभएको धारणा व्यक्त गर्दै उनले आगामी माघ ५ गते आफ्नो कार्यकाल समाप्त हुने बताए । उनले तीनवर्षे कार्यकालमा मतदाताको विकासको चाहना पूरा गर्न आफूले हरसम्भव प्रयत्न गरेको बताए ।