बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यावसायिक सम्बन्ध राख्ने देशहरूबाट आयात हुने सामानमा २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत ट्रम्पले उक्त शुल्क ‘तत्काल लागू’ हुने बताए ।
सरकारविरुद्धको प्रदर्शन तेस्रो हप्तामा प्रवेश गरिरहेका बेला यस कदमले इरानमाथि दबाब बढाउने अपेक्षा गरिएको छ। ट्रम्पले इरानसँग ‘कारोबार गर्नु’ भन्नाले के जनाउँछ भन्नेबारे स्पष्ट विवरण भने दिएका छैनन्।
इरानका प्रमुख व्यापारिक साझेदारमा चीन अग्रस्थानमा छ भने त्यसपछि इराक, संयुक्त अरब इमिरेट्स, टर्की र भारत रहेका छन्।
यो निर्णय ट्रम्पले प्रदर्शनकारी मारिएमा सैन्य हस्तक्षेप गर्ने चेतावनी दिएपछि आएको हो। ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेभिटका अनुसार हवाई आक्रमणसहितका सैन्य विकल्पहरू अझै पनि ‘टेबलमा’ छन्।
‘इस्लामिक रिपब्लिक अफ इरानसँग कारोबार गर्ने कुनै पनि देशले अमेरिकासँग गरिने सबै कारोबारमा २५ प्रतिशत भन्सार शुल्क तिर्नुपर्नेछ,’ ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्।
ह्वाइट हाउसले कुन देशका आयात सबैभन्दा बढी प्रभावित हुनेछन् भन्नेबारे थप विवरण सार्वजनिक गरेको छैन।
डिसेम्बर अन्त्यतिर इरानी मुद्रा रियालको तीव्र अवमूल्यनपछि सुरु भएका प्रदर्शनहरूले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको वैधतामाथि गम्भीर संकट उत्पन्न गरेको छ।
अमेरिकास्थित मानवअधिकारवादी समूह एचआरएनएकाका अनुसार हालसम्म करिब ५०० प्रदर्शनकारी र ४८ सुरक्षाकर्मीको मृत्यु पुष्टि भएको छ। हजारौं मानिस पक्राउ परेको जनाइएको छ ।
इरानको आणविक कार्यक्रमका कारण लगाइएका अन्तर्राष्ट्रिय प्रतिबन्ध र सरकारी कुशासनले देशको अर्थतन्त्र कमजोर बनेको छ। पछिल्लो एक वर्षमा रियाल ऐतिहासिक न्यूनस्तरमा झरेको छ भने मुद्रास्फीति ४० प्रतिशतभन्दा माथि पुगेको छ।

प्रतिक्रिया