-सुवोधराज प्याकुरेल ।
नवयुवाको विरोध किन राष्ट्रव्यापी बन्यो ? किन सिंगो मुलुकको आक्रोशको ज्वालामा बितण्डाको घिउ थप्न राष्ट्रघातीहरु सफल भए ? भदौ २३ को विरोध किन २४ मा ध्वंसात्मक बन्यो ? के त्यसका कारण र कार्य २३ र २४ मा मात्र सीमित थियो ? थिएन, किमार्थ थिएन । एकदशक अघि पलाएको आशामा तुषारापात भएपछि, आमनागरिकले दैनिकीमा हेपाइती भोग्नु परेपछि र नेतृत्वले विलकुल बेवास्ता गर्ने कुसंस्कार दिनपरदिन जब्बर बन्दै गएपछि सबैखाले अर्थात सीमाना भित्र अनि बाहिरका समेतले विध्वंस मच्चाउने अवसर पाए । ज्यानको बाजी राखेर लोकतन्त्रको लागि लडेका भनिएका प्रधानमन्त्री भागे, सभामुख लुके, सांसदहरुको भागाभाग भयो । प्रतिरक्षा गर्ने दलहरु हराए।
अब बिगतको समीक्षा गर्नुपर्छ कि पर्दैन ? नीति र व्यवहारमा रुपान्तरण गर्नुपर्छ कि पर्दैन ? नेतृत्वको सम्परीक्षण हुनुपर्छ कि पर्दैन ? यति गरिदिए कांग्रेस बौरिन सक्छ । सोलोडोलो नायकत्वमा स्थापित हुन सक्छ । अहिले प्रस्तावित विशेष अधिवेशन यो सन्दर्भमा सुवर्ण अवसर हो । सभापति देउवाले आफ्नै अगुवाइमा विशेष महाधिवेशनको सञ्चालन गरेर इतिहास रच्ने अवसर गुमाउनु होला ? सायद नगुमाउनु होला । आफ्नो इतिहास, पार्टीको इतिहास र लोकतन्त्रको गौरवलाई नबुझेको त नहुनु पर्ने ।

प्रतिक्रिया