-बासुदेव घिमिरे ।
राजनीति केवल पद प्राप्तिको दौड मात्र होइन, यो त विचारको मन्थन र आम जनताको भावनाको प्रतिनिधित्व गर्ने एउटा पवित्र माध्यम हो । युवा संघ हुँदै पार्टी काममा चार दशक खटिँदा होस् वा तिलोत्तमा नगरपालिकाको प्रथम नगर प्रमुखका रूपमा काम गर्दा वा रुपन्देही क्षेत्र नम्बर ५ को संघीय सांसदका रूपमा सदनमा आवाज उठाउँदा, मेरो मूल मन्त्र सधैं ‘जनताको सेवा र पार्टीको सुदृढीकरण’ नै रह्यो । तर, पछिल्लो समय पार्टीभित्रका केही प्रवृत्तिहरूले मलाई गम्भीर रूपमा सोच्न बाध्य तुल्यायो । मलाई चिनेजानेका हरुलाई थाहा छ—म अलि छिटो निर्णय लिन्छु । मलाई कुनै पनि काममा बिलम्ब भएको पटक्कै मन पर्दैन । म परिवर्तन चाहन्छु । हरेक कुरा राम्रो बनाउन प्रयत्न गर्छु । यो मेरो कमजोरी पनि हुन सक्छ । पार्टीभित्रका कतिपय प्रवृत्ति मलाई जस्तै अरु नेता कार्यकर्तालाई पनि मन नपरेको हुन सक्छ, तर मैले त्यो उकुसमुकुसलाई दबाएर राख्न सकिनँ, पोखे । पार्टी अलगको मेरो निर्णय कुनै बार्गेनिङ वा पद प्राप्तिका लागि छँदै थिएन ।
किन जन्मियो उकुसमुकुस ?
म सधैं एउटा मान्यतामा अडिग रहेँ— नेकपा (एमाले) जस्तो विशाल र ऐतिहासिक पार्टी समयको पदचापसँगै बदलिएर अघि बढ्नुपर्छ । आजको ‘जेन–जी’ पुस्ताको आन्दोलन, उनीहरूको फरक सोच र प्रविधिमैत्री सपनालाई पार्टीले आत्मसाथ गर्नुपर्छ । परम्परागत शैलीको रूपान्तरण अबको अनिवार्य सर्त हो । जब यस्ता मुद्दाहरूमा अवरोधहरू सिर्जना हुन थालेको देखेँ तब मभित्र ‘उकुसमुकुस’ पैदा भयो । त्यो उकुसमुकुस कुनै पद नपाएको झोक थिएन, बरु पार्टीलाई अझ जीवन्त बनाउने चाहनाको छट्पटी मात्र थियो ।
निर्णय र फिर्ताको चुरो कुरो
गत मंगलबार मैले पार्टीबाट अलग हुने जुन निर्णय लिएँ, त्यो मेरो व्यक्तिगत स्वार्थको उपज थिएन । त्यो त एउटा ‘आवेग’ थियो— ती बेथितिहरू विरुद्ध, जसले पार्टीलाई भुइँतहका कार्यकर्ताबाट टाढा लैजाँदै थियो । तर, मेरो त्यो निर्णय सार्वजनिक भएसँगै जुन प्रतिक्रियाहरू आए, त्यसले मलाई भावुक र गम्भीर दुवै बनायो । मलाई नेता बनाउने, मलाई माया गर्ने र मेरो राजनीतिक यात्रामा काँध थाप्ने आदरणीय कार्यकर्ता साथीहरू र शुभचिन्तकहरूले भन्नुभयो— “बासुदेव कमरेड, यो घर छोडेर समाधान निस्कँदैन । यो घर सँगै बसेर सपारौँ, तर छोडेर नजानुस् । हामी तपाईंको साथमा छौं ।” पार्टीमा सबै मान्छेहरु एउटै प्रवृत्तिका कहाँ छन् र ? पार्टीका आदरणीय उपाध्यक्ष विष्णु प्रसाद पौडेलसँगै बसेर तमाम कार्यकर्ताहरुले दिएको सुझाव, त्यो परिदृश्यले मलाई साच्चै भावुक बनायो । मैले आफ्नै मान्छेहरुको भावना कदर नगरेर गरेको राजनीति के राजनीति ? जब मलाई नेता मान्ने र विश्वास गर्ने आँखाहरुमा चिन्ता देखेँ, सामाजिक सञ्जालमा आक्रोश देखेँ । फोन, भेटघाट तथा नजिकका आफन्तमार्फत् असन्तुष्टि व्यक्त गरेको पाएँ, तब मलाई महसुस भयो कि मेरो जीवन मेरो मात्र होइन रहेछ । यो त ती तमाम कार्यकर्ता र शुभेच्छुक साथै आम नागरिकको पनि रहेछ । उहाँहरूको खबरदारी र “पार्टी भित्रै बसेर रूपान्तरणको लडाइँ लडौँ” भन्ने आग्रहलाई मैले नकार्न सकिनँ । कार्यकर्ता र शुभेच्छुकको भावनालाई सम्मान गर्नु नै एउटा सच्चा नेताको धर्म हो । त्यसैले, मैले निर्णय बदलेँ । म आफ्नै कर्मथलोमा निःसर्त रहेको छु, कर्ममै लागेको छु । मैले मेरा तमाम शुभेच्छुकलाई स्पष्ट पार्न चाहान्छु—म कुनै सौदाबाजीमा परेको छैन । म इमानमा चल्ने मान्छे हो । प्राप्त जिम्मेवारीलाई इमान्दारिताका साथ पूरा गर्ने मेरो संस्कार हो ।
अवसरवाद कि आदर्शवाद ?
ममाथि ‘अवसरवादी’ वा ‘पदको भोको’ भएको आरोप लगाउन खोज्नेहरूलाई मेरो एउटै प्रश्न छ— यदि मलाई पदकै लोभ हुन्थ्यो भने म सुरक्षित ठाउँमा मौन बसेर पार्टीमा नेतृत्वको चाकरी गरिरहन्थेँ होला, विद्रोह गर्ने जोखिम उठाउने थिइनँ । विद्रोह पदका लागि थिएन, यो त विचार र पुस्तान्तरणका लागि थियो । व्यक्तिगत स्वार्थका लागि होइन, यो त भुइँतहका कार्यकर्ता, पार्टीका शुभेच्छुकको भावना र उनीहरूको अटल विश्वासको सम्मानका लागि हो । राजनीतिमा कहिलेकाहीँ बाटो बिराए जस्तो लाग्न सक्छ, तर लक्ष्य बिराउनु हुँदैन । मेरो लक्ष्य हिजो पनि एमालेलाई पहिलो र आधुनिक पार्टी बनाउने थियो, आज पनि त्यहीँ छ । मलाई अवसरवादी भनेर सत्तोसराप गर्नेहरुप्रति मेरो खास गुनासो त छैन तर एउटै प्रश्न छ—म कुनै पार्टीमा प्रवेश गरेर पुनः फर्किएको हो र ? म जे गर्छु मनैदेखि गर्छु । म एमालेमा रहन्छु, मन, वचन, कर्मदेखि नैं रहन्छु ।
अबको बाटो
मैले माथि पनि भनेको छु—म निःसर्त पार्टी काममा रहेकै छु । पार्टीले दिने जुनसुकै जिम्मेवारीलाई पूरा गर्न म सधै तयार रहने छु । तर मेरा मुद्दाहरू मरेका छैनन् । म पार्टीभित्रै रहेर युवा पुस्तामा नेतृत्व हस्तान्तरणको वकालत गरिरहनेछु । पार्टीलाई आधुनिक र ‘जेन–जी’ मैत्री बनाउन लागिपर्नेछु । कार्यकर्ताको शिर झुक्न नदिने गरी काम गर्नेछु । मलाई गाली गर्नेहरूलाई समयले उत्तर दिनेछ, तर मलाई माया गर्नेहरूका लागि म सदैव हिमाल बनेर उभिनेछु । हामी मिलेरै यो पार्टीलाई रूपान्तरण गर्नेछौँ, मुलुकको निर्णायक शक्ति बनाउनेछौं ।
भवतु: सव्ब मंगलम् !

प्रतिक्रिया