अध्यादेशमार्फत शासन गर्ने प्रवृत्तिले कालान्तरमा स्वयं प्रधानमन्त्रीलाई नै अप्ठ्यारो पार्न सक्छ


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले सरकारले संसद छल्दै अध्यादेशमार्फत विधेयक ल्याउने तयारी गरेको भन्दै आपत्ति जनाएका छन् ।

मंगलबार सामाजिक संजालमार्फत शाहीले संसदीय अभ्यासको पालना गर्दै सहकार्यका आधारमा अघि बढ्न प्रधानमन्त्री साहलाई सुझाव दिएका हुन् । उनले संसद स्थगित गरेर अध्यादेशमार्फत शासन सञ्चालन गर्नु प्रजातान्त्रिक मूल्य र संसदीय परम्पराविपरीत भएको बताएका छन् ।

उनले भनेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यू, बोलाइएको संसद रोकेर अध्यादेशमार्फत विधेयक ल्याई सरकार सञ्चालन गर्नु प्रजातान्त्रिक र संसदीय अभ्यासविपरीत कदम हो। संसदमा तपाईँहरूको झन्डै दुईतिहाइ छ पारित गर्न खोज्नुभएको विधेयक संसदबाट सजिलै पारित हुने सम्भावना छ। त्यसैले संसदलाई छलेर होइन होइन। सहकार्य गरेर अगाडि बढ्नुहोस्। यस्ता गतिविधिले कालान्तरमा स्वयं प्रधानमन्त्रीज्यूलाई नै अप्ठ्यारो पार्न सक्छ । त्यसैले संसदीय अभ्यासको पूर्ण पालना गर्दै अध्यादेशमार्फत शासन गर्ने प्रवृत्ति बन्द गरी संसदबाटै विधेयक ल्याउन हार्दिक अपील गर्दछु।’