काठमाडौं । नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ३८ औं स्मृति दिवस आज मनाइँदैछ ।
बीपी स्मृति दिवसका अवसरमा नेपाली काँग्रेस र उसका भातृ संगठनले देशभर विभिन्न कार्यक्रमको आयोजना गर्दैछन् ।
नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले बीपी संग्रहालय सुन्दरीजल क्षेत्रमा वृक्षारोपण कार्यक्रम राखेको छ ।
विभिन्न जिल्लामा पनि काँग्रेस तथा यसका भातृ संगठनले विभिन्न कार्यक्रम गरी बीपीलाई सम्झदैछन् ।
कोइराला २०१५ सालको आमचुनावमा कांग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए ।
उनले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व गरेका थिए ।
तर दुई वर्ष काम गर्न नपाउँदै तत्कालीन राजा महेन्द्रले जननिर्वाचित संसद् अपदस्त गरेपछि उनले लामो समय निर्वासन र जेलमा बिताउनुपरेको थियो ।
पछि उनी विदेशमा बसेर देशका लागि लड्नुभन्दा देशभित्रकै सबै शक्तिबीचको एकता महत्वपूर्ण हुने भन्दै राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएका थिए ।
उनले प्रवद्र्धन गरेको प्रजातान्त्रिक समाजवाद र मेलमिलापको नीति अहिले पनि सान्दर्भिक मानिन्छ । कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो ।

प्रतिक्रिया