गण्डकी । वडास्तरीय कृषि सञ्जालको समन्वय र पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाको संयोजनमा बिहीबार पोखरा महानगरपालिका–२१ कृष्तीमा सुन्तला महोत्सव आयोजना गरिएको छ ।
उत्पादक र उपभोक्तालाई एक ठाउँमा उपस्थित गराउँदै सुन्तलाखेतीप्रतिको आकर्षण बढाउन प्रेरति गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।
महोत्सवको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका धनराज आचार्यले महानगरपालिकाको एक वडा/एक उत्पादन कार्यक्रमअन्तर्गत सुन्तला पकेट क्षेत्रका रूपमा स्थापित वडा नं २१ का किसानलाई लक्षित गर्दै पहिलोपटक सुन्तला महोत्सव आयोजना गरिएको बताए ।
महोत्सवका कारण किसान आफ्नै बगैँचामा उत्पादन गरेका प्राङ्गारिक सुन्तला एकैथलोमा बिक्री गर्न पाउने व्यवस्थाबाट लाभान्वित बनेको उनले बताए ।
नेपालको राष्ट्रिय फल सुन्तलालाई ‘पोखराको सुन्तला’का रूपमा स्थापित गर्न वडा नं २१, २२, १६, २३, २८ र ३३ को महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै उनले यस वर्ष पोखरा महानगर क्षेत्रभित्र करिब १० करोडभन्दा बढीको सुन्तला उत्पादन भएको अनुमान गरिएको बताए ।
कृषिलाई पर्यटनसँग जोड्दै यसप्रतिको आकर्षण बढाउनका लागि महोत्सव गरिएको पोखरा महानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए ।
महोत्सवले सुन्तला उत्पादनलाई प्रवद्र्धन गर्नुका साथै बजारीकरणमा पनि सहयोग पुग्ने वडा नं २१ का अध्यक्ष दीपक सुवेदीले बताए ।
महानगरपालिकाले गत आर्थिक वर्षदेखि किसानलाई अनुदानमा असिना छेक्ने जाली उपलब्ध गराउन थालेको छ । अघिल्लो वर्ष कृषक समूहलाई ७० प्रतिशत अनुदान र व्यक्तिगत कृषकलाई ५० प्रतिशत अनुदानमा उक्त सहयोेग उपलब्ध गराइएको थियो ।

प्रतिक्रिया