ईश्वर पोखरेलले भने- कार्यकर्ताले आत्मसमर्पण होइन, आत्मसम्मान खोज्छन्, कसैलाई काखा, कसैलाई पाखा नगरियोस्


-ईश्वर पोखरेल ।

हालै नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशन सम्पन्न भइसकेको छ । त्यहाँ उठेका छलफलका विषय , नेतृत्वका लागि भएको प्रतिस्पर्धा र त्यसपछि प्रतिस्पर्धी समूहमा रहनु भएका साथीहरूका विचमा भएको सामान्य र विदाइ छलफललाई लिएर अहिले केही साथीहरूले तरंगित बनेर सार्वजनिक गर्नु भएको प्रतिकृयाप्रति ध्यानाकर्षण भएको छ । विगतमा पटक पटक पार्टीभित्रको बहस विवादमा नकारात्मक र नोक्सानदायी परिणाम झेल्दै र भोग्दै आएको पृष्ठभूमिका बारेमा हामी जानकारनै छौं । त्यसले सृजना गरेको त्रासबाट हामी अहिले पनि केही हदसम्म त्रसित छौं र पीडित पनि रह्यौं । तर अहिले विगतको त्यही त्रास वा ‘भूत’ बाट तर्सिरहनु कति उचित हुन्छ ? एउटा कुरा–विगतको दुर्भाग्यपूर्ण अध्यायको पुनरावृत्ति हुने छैन–हुन दिइने छैन । संस्थागत गरिएका ( वा गरिने ) निर्णय र महाधिवेशनबाट निर्वाचित नेतृत्वको विरोधमा कसैबाट पनि कुनै काम हुनेछैन । तर हरेक तहका नेता/कार्यकर्ताले आत्मसमर्पण होइन, आत्मसम्मान खोज्छन्, कसैलाई काखा कसैले पाखा नगरियोस् भन्ने आशा र अपेक्षा गरेका हुन्छन् । र, त्यस्तो नहुँदा वा हुन नसक्दा त्यसप्रति असहमति वा विरोध भने हुनेछ भन्ने कुरालाई अस्वाभाविक रूपमा लिनु हुन्न पनि ! हो, यसपटक विभिन्न कारणले सर्वसम्मति भएन, नेतृत्वका लागि । (खासमा नेतृत्वबाट सर्वसम्मकिा लागि ठोस पहल नभएको कुरा महाधिवेशनका आमसहभागीहरूले बुझेकै हुनुपर्छ । नेतृत्वमा रहेका खास खासलाई विदा गर्ने पूर्वयोजना रहेर त त्यस्तो गरिएको त थिएन–धेरै सहभागीले यो प्रश्न मनमा लिएर आआफ्ना क्षेत्रमा फिरेको हुनुपर्छ ।)

समूह/समूह बनेपछि र समूहकै हिसावले प्रतिस्पर्धाको प्रकृयामा गएपछि केही नीतिगत अडान, खासगरी पार्टी जीवनको लोकतान्त्रिकरणसित सम्वन्धित विषयमा केन्द्रित रहेर विषयहरू उठाइएका थिए । ती मुद्दाका रूपमा प्रस्तुत गरिएका थिए, ‘अवधारणा पत्र ‘ का रूपमा सार्वजनिक गरिएका थिए र महाधिवेशनको बन्द सत्रमा समेत प्रस्तुत गरिएकै हुन् । अर्थात्, लुकाइरहनुपर्ने केही विषय छैनन् वा होइनन् पनि ! जे होस्, अहिले महाधिवेशनले एउटा निष्कर्ष दिइसकेको छ । त्यसलाई पालना गर्नु सबैको कर्तव्य हो। तर नेतृत्वबाट सबैले आत्मसमर्पण होइन, समान र सम्मानजनक व्यवहारको अपेक्षा पनि गरेका हुन्छन्–नेतृत्वले र तरंगित हुने सबैले बुझ्नैपर्छ । त्यस्तो हुन नसक्दा अप्रिय र नोक्सानदायी परिणाम भोग्न हामी सबै अभिशप्त हुने कुराबाट कसरी बच्न सकिएला र !?

रूपान्तपणका लागि निरन्तर वहस/छलफल, आधिकारिक र संस्थागत निर्णयहरूको पालना, व्यवहारमा काखा पाखा नहुने कुराको सुनिश्चितता, विभाजनको दुर्भाग्यपूर्ण कुराको दृढतापूर्वक विरोध–अहिलेको आवश्यकता हो । महाधिवेशनमा नेतृत्व चयनमा समूह/समूह रहे पनि सम्बद्ध सबैलाई यिनै कुराबाट निर्देशित हुने/निर्देशित गर्नुपर्ने अहिलेको आवश्यकता हो ।
कसैप्रति पनि आग्रहप्रेरित कटाक्ष गरिनु कुनै पनि अर्थमा पार्टी र आन्दोलनलाई लाभ पुर्याउने विषय नभएर नोक्सान मात्र पुर्याउने विषय हुन् । अनावश्यक तरंगित नबनौं ! सबैले बुझौं ! अहिले नेकपा ( एमाले) सम्बद्ध सबै नेता, कार्यकर्ताहरूले यी कुरामा ध्यान पुर्याउनै पर्ला–

– विधि र प्रकृया अनुसार गरिएका/भएका संस्थागत
निर्णयहरूको निशर्त पालना !
– पार्टी एकतालाई मजबुत बनाउन सबैबाट त्यसै अनुसारको व्यवहार ! पार्टीलाई विभाजित बनाउने कुराको सख्त बिरोध । सँगसँगै , सबै कार्यकर्ताको स्वाभिमान र आत्मसम्मानको पक्षपोषण !
– यिनै कुराका आधारमा पार्टी नेतृत्वको प्रतिरक्षा हुन्छ – सबै षडयन्त्रहरूलाई पराजित गर्न सकिन्छ ! र नेकपा ( एमाले) लाई एउटा निर्णायक राष्ट्रिय शक्ति बनाउन सम्भव हुनेछ ।