दुर्गमको ‘लालझाडी’ सडक पूर्वाधार विकासले सुगम बन्दै


कञ्चनपुर। जिल्लाको दुर्गम क्षेत्रका रूपमा परिचित लालझाडी गाउँपालिका पछिल्ला वर्षहरूमा सडक पूर्वाधारको विकाससँगै सुगम बन्दै गएको छ।

वर्षायाममा हिलोले हिँडिनसक्नु हुने र हिउँदमा सुक्खा धुलोले जनजीवन कष्टकर बनाउने यहाँका सडकको नियति अब इतिहासको पानामा सीमित हुनपुगेको छ।

पछिल्ला केही वर्षमा लालझाडीले सडक पूर्वाधारमा मारेको फड्कोले स्थानीय बासिन्दाको जीवनस्तरमात्र होइन, समग्र गाउँको आर्थिक र सामाजिक मुहारमै परिवर्तन ल्याएको छ।

लालझाडीको कञ्जका स्थानीय बासिन्दा बलराम राना पुराना दिन सम्झिँदै भन्छन्, “वर्षात सुरु हुनेबित्तिकै बाहिरी संसारबाट काटिन्थ्यौँ, सडकमा गोडासम्म डुब्ने हिलो हुन्थ्यो, कोही बिरामी परेमा अस्पताल लैजानका लागि एम्बुलेन्स आउने त टाढाको कुरा, मान्छेले बोकेर लैजान पनि बाटो भेटिँदैनथ्यो।”

हिउँदमा पनि कच्ची सडकमा सवारीसाधन गुड्दा उड्ने धुलोले सडक छेउका घर र खेतीपाती पूरै छोपिन्थे, जसका कारण बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वासको समस्या आमजस्तै थियो। खोलामा पुल नहुँदा काठको डुङ्गाको सहारामा जोखिमपूर्ण यात्रा गर्नु यहाँका बासिन्दाको बाध्यता थियो।

तर, गाउँपालिकामा जनप्रतिनिधि आएपछि विकासले गति लिएको स्थानीय रामप्रसाद राना बताउछन्। “पहिले नदीमा झोलुङ्गे पुल बन्यो, त्यसले डुङ्गा तर्ने दिनको अन्त्य गर्यो”, उनी भन्छन्, “त्यसपछि दोदा नदीको बल्मी नजिकै पक्की पुल बनेपछि आवतजावतमा थप सहजता आएको छ, पहिले र आजको लालझाडीको तस्बिर पूरै फेरिएको छ।”

स्थानीय महेश्वरी राना आफ्नै घरअगाडि कालोपत्र सडक देख्दा चकित छिन्। “हामीले कहिल्यै कल्पनासमेत गरेका थिएनौँ कि हाम्रै घरअगाडि यति चिल्लो बाटो बन्ला”, उनले भनिन्, “सङ्घीयता र स्थानीय सरकार आएपछि जनप्रतिनिधिले सडकलाई प्राथमिकतामा राखेर काम गरेकै कारण आज यो सम्भव भएको हो।”

अहिले लालझाडीका मुख्य प्रशासनिक केन्द्रदेखि भित्री बस्तीसम्म कालोपत्र सडकको सञ्जाल फैलिँदैछ। धुलो र हिलोको सास्ती खेप्ने ती दिनहरू अब सम्झनामा मात्र बाँकी रहेको अर्का स्थानीय रामप्यारा चौधरी बताउछन्।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीका अनुसार गाउँपालिकाले योजनाबद्ध रूपमा सडक स्तरोन्नतिको कामलाई अगाडि बढाउँदै आएको छ। हालसम्म २७.५ किलोमिटर सडक कालोपत्र गरिसकिएको उनले जानकारी दिए।

गाउँपालिका, सुदूरपश्चिम प्रदेश र सङ्घीय सरकारको त्रिपक्षीय सहकार्यमा चानदेव–बल्मी सडक, वडा नं २ को चक्रपथ र वडा नं १ को रणनीतिक महत्वको सडक कालोपत्र गरिएको छ। अधिकृत सार्कीका अनुसार गाउँपालिका अध्यक्ष विशेष पूर्वाधार कार्यक्रममार्फत छवटै वडाका सडक स्तरोन्नति तथा कालोपत्रको कार्य भइरहेको छ।

गाउँपालिकाले थप ३२ किलोमिटर सडक कालोपत्र गर्ने प्रक्रिया सुरु गरेको छ। “चालु आर्थिक वर्षमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमअन्तर्गत १३.६ किलोमिटर, एडिबीको पीएलआर कार्यक्रमअन्तर्गत १३.५ किलोमिटर र पाँच किलोमिटर चक्रपथ कालोपत्र गर्दैछौँ”, सार्कीले भने। उनका अनुसार कञ्चनपुरमै सबैभन्दा पहिला नगर अस्पताल निर्माण गर्ने पालिका पनि लालझाडी नै बनेको छ, जुन अब सञ्चालनको तयारीमा छ।

पूर्वाधार विकासअन्तर्गत दोदा नदीमा नन्द गाउँ–बल्मी र लालझाडी–भकुण्डा जोड्ने पक्की पुल सञ्चालनमा आइसकेका छन्। यसैगरी जाइँ–देखतभूली र देखतभूली–दुबहा सिकलपट्टी जोड्ने पुल निर्माणको अन्तिम चरणमा छन्। यी पुलले वर्षायाममा ज्यान जोखिममा राखेर नदी तर्नुपर्ने अवस्थाको अन्त्य गरिदिएका छन्।

सडक र पुलको निर्माणले किसानलाई पनि ठूलो राहत दिएको छ। सडक बनेपछि किसानले आफ्नो उत्पादन (विशेषगरी उखु र तरकारी) खेतबाटै सिधै चिनी मिल वा बजारसम्म लैजान पाएका छन्, जसले गर्दा बिचौलियाको चलखेल घटेको छ।

सडक सुविधा पुगेपछि एम्बुलेन्स र दमकलजस्ता आपत्कालीन सवारीसाधन गाउँका कुनाकुनासम्म पुग्न थालेका छन्। सडक छेउछाउमा नयाँ पसल, बजार र साना उद्योग खुल्ने क्रम बढेसँगै स्थानीय युवा गाउँमै स्वरोजगार बन्न थालेका छन्।