वीच्याटबाट सुन तस्करीको निर्देशन, चीनमा बसेर चलाइन्थ्यो कारोबार, यसरी पक्राउ परे बूढानीलकण्ठबाट तीन चिनियाँ


काठमाडौँ । प्रहरीले काठमाडौँको बूढानीलकण्ठबाट बिहीबार २१ किलो सुनसहित पक्राउ परेका तीन जनालाई शुक्रबार सार्वजनिक गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार दिउँसो पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा चिनियाँ नागरिकहरू २७ वर्षका हान फेइ, ३७ वर्षका वाङ जियानझेन र ४७ वर्षीय झोउ लोङक्विन छन् । पक्राउ परेका हान फेई र झोउ लङक्विन गत सेप्टेबर २६ मा नेपाल आएका थिए भने सु कान अक्टोबर १ मा नेपाल आएका थिए । नेपाल आएपछि हान फेईले विमानस्थलबाटै एक महिनाका लागि बीवाइडी कार भाडामा लिएर सुन ओसारपसारमा प्रयोग गरेका थिए ।

प्रहरीले घरबाट ठोस र अर्धठोस गरी २१ किलो सुन बरामद गरेको जनाएको छ । उनीहरूले भाडामा लिएको घरलाई सुन प्रशोधन गर्ने ठाउँ बनाएका थिए। प्रहरीले उनीहरूको साथबाट अवैध सुन, नगद, सुन ओसारपसारमा प्रयोग भएको गाडी, सुन प्रशोधन गर्ने विभिन्न मेसिन तथा उपकरणहरू र महत्वपूर्ण कागजातहरू समेत बरामद गरेको छ।

पत्रकार सम्मेलनमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष खड्काले सुनको अवैध कारोबारमा चीनबाटै निर्देशन आउने गरेको जानकारी दिएका छन् ।

उनकाअनुसार चीनको ग्वाङ्झाउमा बस्ने झेन जिया लेले वीच्याटमार्फत नेपालमा रहेका आफ्ना समूहका चिनियाँ नागरिकलाई सुन प्रशोधन गर्ने, तयार पार्ने र तोकिएको ठाउँमा पुर्याउन निर्देशन दिने गरेका थिए । प्रहरीले यसमा ठूलो गिरोह हुनसक्ने भएकाले अनुसन्धान भइरहेको जनाएको छ ।