सुशासन कायम गर्ने कुरामा सरकारले झ्याल-ढोकाबाट चिहाउनुपदैन, हामी साथमा छौंः सभापति लामिछाने


चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले परिवर्तन चाहनेहरूलाई एकैठाउँमा ल्याउन आफू सभापति पद त्याग गर्न तयार रहेको बताएका छन् ।

शनिबार चितवनमा आयोजित सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले देशलाई निकास दिनको लागि पार्टी, चुनाव चिह्न, सभापति र उपसभापति सबै दिन तयार रहेको बताएका हुन् ।

आफू चुनावका लागि मात्र राजनीतिमा नआएको भन्दै उनले पुस्ताको लागि मिल्ने हो भने रवि लामिछानेले त्याग गर्न तयार रहेको बताए ।

उनले भने, ‘एकता एउटा चुनावका लागि मात्रै होइन, सधैँका लागि हुनुपर्छ । यो चुनावका लागि मात्रै एकता गर्ने हो भने आई एम सरी ।’

उनले सरकारले जसरी पनि चुनाव गराउने बाटोमा काम गर्नुपर्ने पनि बताए । सभापति लामिछानेले रास्वपा सरकारसँग जेनजीको माग पूरा गराउने र निर्वाचन सम्पन्न गराउने कुरामा खडा हुने बताए ।

उनले भने, ‘सरकार डराउनुपर्ने केही कुरा छैन । जनताको साथ छ सरकारलाई । जनताको मुद्दा, जेनजीको मागमा विशेषगरी सुशासन कायम गर्ने कुरामा झ्यालबाट ढोकाबाट चिहाउनुपदैन । सिधै अघि बढे हुन्छ । रास्वपा पनि सरकारको साथमा छ ।’

लामिछानेले कांग्रेस एमालेले आफूलाई झुटा मुद्दा लगाएर फसाएको भन्दै आक्रोश पोखे ।