सरकार र जेनजीबीचको १० बुँदे सम्झौताविरूद्धको रिटमा कारण देखाऊ आदेश जारी


काठमाडौँ । सर्वोच्च अदालतले सरकार र जेनजी बीचको सम्झौताविरुद्धको रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।

शुक्रबार न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले विपक्षीहरूका नाममा कारण देखाऊ आदेश जारी गरेको हो । रिट निवेदक अधिवक्ता प्रेमराज सिलवाल र अधिवक्ता सुदीप भण्डारी सहितलगायतले दुई वटा छुट्टाछुट्टै रिट पेस गरेका थिए।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र प्रधानमन्त्री सुशीला कार्कीलाई विपक्षी बनाएका थिए । साथै अन्तरिम आदेशको विषयमा छलफल गर्न पुस ११ गते दुवै पक्षलाई अदालतमा उपस्थित हुन भनिएको छ ।

अदालतले महान्यायाधिवक्ता कार्यालयमार्फत निर्णयसम्बन्धी सक्कल कागजात पेस गर्नसमेत निर्देशन दिएको छ । सरकार र जेनजीबीच गत मंसिर २४ गते १० बुँदे सम्झौता भएको थियो । निर्वाचनको म्यान्डेट पाएको अन्तरिम सरकारलाई सम्झौताको अधिकार नभएको रिटमा उल्लेख गरिएको छ ।