काठमाडौँमा आगलागीजन्य घटना नियन्त्रणका लागि ड्राइराइजर प्रणाली प्रयोगमा


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगलागीजन्य घटना नियन्त्रणका लागि ‘ड्राइराइजर’ प्रणाली प्रयोगमा ल्याएको छ । विपद् व्यवस्थापन विभागले पञ्चकुमारी मार्ग जनगोरेटोमा बिछ्याइएको ड्राइराइजर प्रणालीको सफल परीक्षण गरी उक्त प्रणालीमार्फत काम सुरु गरिएको महानगरपालिका विपद् व्यवस्थापन विभागका विष्णुप्रसाद जोशीले जानकारी दिए ।

उक्त प्रणाली परीक्षणका लागि खटिएका काठमाडौँ बारुणयन्त्र कार्यालयका अग्निनियन्त्रक र महानगर प्रहरी बलबाट खटिएका जनशक्तिले तीन हजार लिटर र तीन हजार ५०० लिटर पानी भण्डारण क्षमता भएका दुई वटा दमकलको प्रयोग गरी उक्त कार्य सुरु गरेको जोशीले जानकारी दिए ।

कामपाको केन्द्र, विपद् व्यवस्थापन विभागबाट कार्यान्वयनमा आएको ड्राइराइजर बिछ्याउने योजनाअन्तर्गत वडा नम्बर २, ३, १४, १६, १९, २६ र ३० का विभिन्न गल्ली गरी १४ ठाउँमा ड्राइराइजर राखिसकिएको छ ।

एक करोड १७ लाख २ हजार ४५० लागतमा राखिएको उक्त प्रणालीबाट कामपाभित्र वडाहरूको दुई हजार ८९६ मिटर लामो ड्राइराइजर प्रणाली स्थापना भएको छ । यसमा अधिकतम ५६० मिटर र न्यूनतम २५ मिटरसम्मको लम्बाइ रहेको कामपाले जानकारी दिएको छ । यो प्रणालीको परीक्षण जाँचका क्रममा विभिन्न वडाहरूको उक्त प्रणाली परीक्षणको सुरुवात गरीएको छ ।

केन्द्रबाट जोडिएको प्रणालीसँगै वडाहरूले वडाकै बजेटबाट पनि प्रणाली जडान भएको बताइएको छ । भूमिगत फायर ड्राइराइजर, साँघुरा गल्ली जहाँ दमकल जान सक्दैनन् । त्यस्ता ठाउँमा सम्भावित आगलागी नियन्त्रण गर्न जडान गरिएको, पानी पुर्याउने प्रणाली हो ।

ड्राइराइजरको दुवैतर्फ दमकल पुग्ने ठाउँमा इनलेट भल्व राखिएको हुन्छ । यसपछिका ४५ मिटरदेखि ७५ मिटरसम्मको दूरीमा आउटलेट राखिएको हुन्छ । दमकलको पानी इनलेटमा राखेपछि आवश्यकताका आधारमा पाइपलाइनका बीचमा जुनसुकै आउटलेट खोले पनि पानी प्राप्त हुन्छ । यसमा डेलिभरी होर्ज जोडेर आगो नियन्त्रण गरिन्छ ।

आगलागीका बेला मात्र पानी प्रवाह हुने ड्राइराइजर हो । यदि त्यसमा नियमित पानी बगिरहन्छ भने यसलाई वेटराइजर भनिन्छ । दमकलबाट आठ बारको प्रेसरमा पानी पठाउँदा सात तले अग्लो भवनमा आगो निभाउन सकिने प्रेसरमा पानी पुग्न सक्छ ।