वियना । पेट्रोलियम निर्यातक मुलुकहरूको सङ्गठन (ओपेक) र यसको सह–साझेदार समूह ‘ओपेक प्लस’ ले आगामी जनवरी, फेब्रुअरी र मार्च सन् २०२६ मा तेल उत्पादन वृद्धि रोक्ने निर्णय गरेको छ । उक्त निर्णय विश्व बजारको अवस्था ध्यानमा राखेर गरिएको हो ।
साउदी अरब, रसिया, इराक, संयुक्त अरब इमिरेट्स, कुवेत, कजाकिस्तान, अल्जेरिया र ओमानसहितका सदस्य मुलुकहरूले भर्चुअल बैठक गरी आर्थिक र बजारको समीक्षा गरेका थिए । यस वर्षको अप्रिलदेखि निरन्तर उत्पादन बढाउँदै आएका यी मुलुकहरूले अब सावधानीपूर्वक रणनीति अपनाउँदै आवश्यक परे उत्पादन समायोजन गर्ने लचिलोपन राख्ने बताइएको छ ।
पेट्रोलियम निर्यातक मुलुकहरूको सङ्गठन (ओपेक) तेल उत्पादक मुलुकहरूको एक अन्तर्राष्ट्रिय सङ्गठन हो, जसको मुख्य उद्देश्य विश्व तेल बजारमा स्थिरता कायम राख्नु, उत्पादन र मूल्यमा सन्तुलन मिलाउनु र सदस्य मुलुकहरूको आर्थिक हितको संरक्षण गर्नु हो ।
ओपेकमा मुख्य रूपमा मध्यपूर्व, अफ्रिका र दक्षिण अमेरिका क्षेत्रका प्रमुख तेल उत्पादक मुलुकहरू सदस्य छन् । यसलाई विस्तार गर्दै केही तेल उत्पादन गर्ने अन्य देशहरूसँग सहकार्य गरेर गठन गरिएको समूहलाई ‘ओपेक प्लस’ भनिन्छ । यस समूहले विश्व तेल बजारमा उत्पादन समायोजन गरेर मूल्य स्थिरता र आपूर्ति नियन्त्रण गर्ने रणनीति अपनाउँछ ।
ओपेक प्लसका अनुसार, सदस्य मुलुकहरूले आगामी जनवरी ४, २०२६ मा अर्को बैठक बस्ने र थप निर्णय लिने कार्यक्रम तय गरेका छन् । यस निर्णयले तेल बजारमा स्थिरता कायम राख्ने प्रयासको सङ्केत दिन्छ ।

प्रतिक्रिया