निर्वाचनका लागि छिमेकीहरु पनि सकारात्मक छन्, त्यसैले फागुन २१ मा हुन्छ र हुनुपर्छः प्रचण्ड


पोखरा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मुलुक गम्भीर राष्ट्रिय संकटमा रहेकाले त्यसबाट मुक्त गर्नुपर्ने बताएका छन् ।

पोखराको चिप्लेढुंगामा आइतबार आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले देशको राष्ट्रिय स्वाधिनता र सुरक्षा कमजोर बन्दै गएकाले सम्पूर्ण देशभक्त, वामपन्थी र कम्युनिष्ट शक्तिहरू एक जुट हुनु आवश्यक भएको बताएका हुन् ।

उनले एमाले र कांग्रेसका ‘दुई तिहाइ’ बाट जनताले के हासिल गर्न सके भन्ने प्रश्न उठाउँदै कांग्रेस एमालेका कारण राष्ट्र संकटमा फसेको आरोप लगाए ।

उनले भने, ‘हामीले राष्ट्र झण्डै धरापमा पुगेको देख्यौँ । सरकारमा हुँदा भ्रष्टाचारविरुद्ध लड्न खोज्यौं । तर सरकारबाट हटाइयो । भ्रष्टाचारविरुद्ध लड्ने पनि दिइएन । हामीलाई भ्रष्टाचार र राष्ट्रिय स्वाधिनताका लागि लड्न शक्ति पुगेन ।’

उनले सुरु गरिएको ‘एकता अभियान’ चुनाव जित्ने उद्देश्यका लागि मात्र नभई राष्ट्रको रक्षा, स्वाधिनता संरक्षण र समृद्धिको आधार निर्माणका लागि भएको स्पष्ट पारे ।

आगामी फागुन २१ गते तोकिएको निर्वाचन हुनै पर्ने भन्दै प्रचण्डले वर्तमान सरकारलाई चुनावी वातावरण निर्माणमा सक्रिय हुन आग्रह गरे । पछिल्लो समय सरकार सम्बन्धित पक्षहरूसँग निरन्तर छलफलमा रहेको र चुनाव निश्चित हुने विश्वास व्यक्त गरे ।

उनले निर्वाचनका लागि सरकार र छिमेकीहरुसमेत सकारात्मक रहेको बताए । उनले भने, ‘कोहीपनि द्धिविधामा बस्न जरुरी छैन, चुनाव फागुन २१ गते हुन्छ र हुनुपर्छ । हाम्रा छिमेकीहरु पनि चुनाव होस् भन्ने चाहन्छन् ।’