काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन पुस मसान्तभित्र सम्पन्न गर्ने विषयमा नेताहरुबीच भद्र सहमति भएको छ ।
कांग्रेस नेता कल्याण गुरुङका अनुसार शनिबार पार्टी सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खडकाको अथक प्रयास, अधिकतम लचकता र शालिन सदासयताका कारण पार्टीको १५औं महाधिवेशन पुस मसान्त भित्र सम्पन्न गर्ने गरी महाधिवेशनको कार्य तालिका ल्याउने विषयमा भद्र सहमति भएको हो ।
उनकाअनुसार १५औं महाधिवेशन पुस मसान्त भित्र सन्पन्न गर्ने गरी कार्यतालिका ल्याउने, महाधिवेशन सम्पन्न गर्न केन्द्रीय क्रियाशील छानबिन समिति लगायत व्यवस्थापन गर्न आवश्यक समितिहरु निर्माण गर्ने, निर्वाचनलाई केन्द्रीकृत गरि आवश्यक समितिहरु निर्माण गर्ने विषयमा सहमति भएको छ ।
यस्तो छ गुरुङको भनाई
नेपाली कांग्रेसका केन्द्रीय सभापति आदरणीय श्री शेर बहादुर देउवा र आदरणीय कार्यवाहक सभापति श्री पुर्ण बहादुर खडकाको अथक प्रयास, अधिकतम लचकता र शालिन सदासयताको कारणले नेपाली कांग्रेसको १५औं महाधिवेशनको सन्दर्भमा भएको छलफलबाट पुष मसान्त भित्रको महाधिवेशनको कार्य तालिका ल्याउने हिजो निम्न भद्र सहमति भएको सुनिन आएको छ ।
१. नेपाली कांग्रेसको १५औं महाधिवेशन २०८२ पुष मसान्त भित्र सन्पन्न गर्ने ।
२. २०८२ पुष मसान्त भित्र महाधिवेशन सम्पन्न गर्ने गरि कार्य तालिका ल्याउने ।
३. महाधिवेशन सम्पन्न गर्न केन्द्रीय क्रियाशील छानविन समिति लगायत व्यवस्थापन गर्न आवश्यक समितिहरु निर्माण गर्ने ।
४. निर्वाचनलाई केन्द्रीकृत गरि आवश्यक समितिहरु निर्माण गर्ने ।
यदि यस प्रकारको भद्र सहमति भएको हो भने धेरै साथीहरु निर्वाचन पछि बैसाखमा महाधिवेशन गर्नु पर्छ भन्ने पक्षमा रहदा रहदै पनि आदरणीय बर्तमान सभापति र आदरणीय कार्यवाहक सभापति ज्यूहरुको अथक प्रयास, अधिकतम लचकता र शालिन सदासयताको सम्मान गर्दै वहांहरुले गर्नु भएको भद्र सहमतिलाई स्विकार गर्दछु र स्वागत पनि गर्दछु ।
यसको साथसाथै पार्टीका सम्पुर्ण साथीहरुलाई पनि महाधिवेशनको विषयमा रहेका आ-आफ्ना अनेकौं मतहरुलाई हाल थाती राख्दै आदरणीय बर्तमान सभापति र कार्यवाहक सभापति ज्युहरुको अथक मेहनत, अधिकतम लचकता र शालिन सदासयताको सम्मान गर्दै हाल २०८२ को पुष मसान्त भित्र पार्टीको १५औं महाधिवेशन सम्पन्न गर्ने भद्र सहमतिलाई स्विकार र सहयोग गर्दै महाधिवेशन र चुनावको तयारी गर्न हार्दिक अनुरोध पनि गर्दछु ।
२०८२ पुष मसान्त भित्र महाधिवेशन सम्पन्न गर्ने भद्र सहमति निर्माण गर्न आदरणीय वर्तमान सभापति र कार्यवाहक सभापति ज्यूहरुलाई साथ, सहयोग र अथक मेहनत गर्नु हुने पार्टीका उप सभापति, महामन्त्रीहरु, सह- महामन्त्रीहरु, पुर्व पदाधिकारीहरु, पार्टीका नेता डा. शेखर कोईराला र केही केन्द्रीय सदस्यहरुलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु ।
वहांहरुको अथक प्रयासले सार्थकता पाउन सकोस्, शुभकामना छ ।
हामी सबै २०८२ पुष मसान्त भित्र पार्टीको १५औं महाधिवेशन सम्पन्न गर्न तन, मन र वचनले दत्तचित्त भएर लागौं ।
कार्य तालिका आउने मिति २०८२ पुष मसान्त भित्र नै १५औं महाधिवेशन हामी सबै मिलेर भव्यताका साथ सम्पन्न गरौं ।

प्रतिक्रिया