हामी गम्भीररूपले आत्मसमीक्षा गर्नुपर्ने अवस्थामा आइपुगेका छौंः प्रचण्ड


दाङ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी  आन्दोलनले आफूहरूलाई गल्ती कमजोरी सच्याएर अघि बढ्नका लागि घचघच्याएको बताएका छन् ।

शनिबार दाङको लमहीमा आयोजित पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले जेनजी आन्दोलनले विगतमा आफूहरूले गरेको कामलाई समीक्षा गर्न दबाब बढाएको बताएका हुन् ।

उनले आफूहरु कमीकमजोरी खोतल्ने र त्यसलाई सच्याउने प्रतिबद्धता गर्न आएको बताए । उनले भने, ‘पछिल्लो जेनजी आन्दोलन वा नयाँ युवा पुस्ताको आन्दोलनबाट जसरी हामी सबैलाई घच्घच्याउने काम भयो, हामीले अझ गम्भीर रूपले आत्मसमीक्षा गर्नुपर्ने र आफूलाई सच्याउनुपर्ने आवश्यकता महसुस भयो ।’

उनले हजारौँ जेनजी युवाहरूले नेकपालाई अभिभावक मानेर भित्रिरहेको दाबी गरे । प्रचण्डले लामो सङ्घर्ष र बलिदानपछि संविधानसभाबाट संविधान जारी गरे पनि जनताको अपेक्षा अनुसार परिणाम दिन नसकेको स्वीकार गरे । उनले अब जनताको सेवामा समर्पित हुने बताए ।

उनले नेपालमा राष्ट्र बचाउने र राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने सवालमा कम्युनिस्टहरू नै सबैभन्दा भरपर्दो शक्ति भएको दाबी गरे ।