पूँजीवादी विरोधी मम्दानी !


-डा. गोविन्द एस उपाध्याय ।

कट्टरपन्थी र तथाकथित समाजवादी खेमाका माम्दनीले न्युयोर्कमा चुनाव जितेकोमा केही फ्रिवादी, समाजवादी र साम्यवादीहरू निकै खुसी भएका छन् । तर संसारमा कुनै पनि साम्यवादी र फ्रिवादी सत्ता सफल भएको र विश्वका देशहरूले आफ्नो मोडेलको रूपमा अनुसरण गर्न सक्ने सत्ताको उदाहरण देखाउन सक्दैनन् । पूँजीवादलाई सधैं सत्तेसराप गर्नेहरूले निम्न कुरा विचार गर्नुअनुरोध गर्छु:

धनी व्यक्तिको सम्पत्ति गरीबहरूलाई बाँडेर कुनै पनि गरीब धनी हुन सक्दैन । सबै धनी व्यक्तिहरू गरीबलाई लुटेर धनी भएका हुँदैनन् । जब लगानीकर्ताहरू राजकीय शक्तिका वरिपरी घुम्दै व्यवसाय आरम्भ गर्छन् राजनीति बलियो हुन्छ । क्रमशः मान्छेले काम गर्न छोड्छन्, जनताहरू राज्यमा बढी निर्भर हुन्छन् । अनि, राज्य अझै बलियो हुन्छ । उद्योग र उद्योगीहरूका अभावमा राष्ट्र कुन गतिमा पुग्छ, आफैं सोच्न सक्नुहुन्छ ।

जनता राज्यको फ्रिवादमा अभ्यस्त हुँदैजाँदा अल्छी, निरद्योगी तथा परनिर्भर हुन्छन् । यस्तो अवस्थामा जनताको सेवा गर्ने नाममा सत्तामा पुगेकाहरू क्रुरतम लुटाहा व्यापारीमा रुपान्तरित हुन्छन् । अनि, ती राजननीतिक व्यापारीहरूका ग्याङ बन्छन् । सुखसुविधा र संसाधनका लागि एकआपसमा लडाईँ गर्छन् तर त्यो लडाईँको दोष पूँजीवादलाई दिएर आफ्नो दुनो सोझो पार्छन् । नेपाल, साउथ अफ्रिकाली र अमेरिकी देशहरूमा यस्तै भैरहेको छ ।

समाजवादलाई यदि कसैले उद्योगीहरूको पूँजी, उद्यमशीलता तथा नवाचारको प्रवृत्तिलाई नियन्त्रित गर्ने, उनीहरूको सम्पत्तिमा रिस गर्ने र उनीहरूसंग साँठगाँठ गरेर राज्य लुट्ने र लुट्न दिने राजनीतिक नीति निर्माण गर्छ भने स्वतन्त्रताको नाममा जनताको आत्मसम्मान, स्वतन्त्रता, सृजनात्मकता गुम्दै जान्छ र उपरोक्त सबै कुराहरू राज्य र व्यापारीको कठोर नियन्त्रणमा पुग्छन् । पार्टीहरू भ्रष्टाचार नियन्त्रण गर्ने नाममा सत्तामा पुग्छन् र पुनः भ्रष्टाचार र कमाउ काममा डुब्छन् ।

राष्ट्रका कुनै संस्थामा विश्वास नगर्ने, स्वतन्त्रताका नाममा हरेक मान्छेलाई आफ्नो सांस्कृतिक, धार्मिक तथा सामाजिक मान्यताहरूमा कट्टर रहन प्रेरित गर्ने, उद्योगीहरूलाई सामन्त तथा शोषकका रूपमा प्रस्तुत गरेर, ती प्रति घृणा फैलाउने राजनीतिक संस्कारलाई समाजवाद भन्दै राजनीति गरिरहेका कुनै एउटा सफल देश देखाउन सक्नेले माम्दनीको प्रशंसा गरे हुन्छ । भारतीय कास्मिरका हिन्दुहरूको हत्या र पलायनका विषयमा चूईक्क नबोल्ने तर कट्टरपन्थीको वकालत गर्नेले न्युयोर्कको उत्थान होइन अबन्नती गर्नेछन् ।