काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एकताका नाममा उल्टो बाटो हिँडेर गरिएको तमासाले कम्युनिस्ट आन्दोलनलाई अझ समस्याग्रस्त बनाउँदै लैजाने बताएका छन् ।
पार्टी एकताप्रति असन्तुष्टि जनाउँदै आएका महासचिव भूसालले बुधबार पत्रकार सम्मेलन गरी नेतृत्व असफल विवादित बन्दै गएको र माओवादी केन्द्रको नेतृत्वमाथि ठूला प्रश्न उठेको अवस्थामा आयोजना हुँदै गरेको एकता नेताहरूको नालायकी लुकाउने प्रयास बाहेक केही हुन नसक्ने बताएका हुन् ।
उनले भने, ‘एकताका नाममा उल्टो बाटो हिँडेर जे तमासा गरिँदैछ त्यस्तो एकताले कम्युनिस्ट आन्दोलनलाई अझ समस्याग्रस्त बनाउँदै जानेछ । हाम्रो नेतृत्व असफल विवादित बन्दै गएको र नेकपा माओवादी केन्द्रको नेतृत्वमाथि ठूला प्रश्न उठेको अवस्थामा आयोजना हुँदै गरेको एकता नेताहरूको नालायकी लुकाउने प्रयास बाहेक केही हुने छैन । आजको कम्युनिस्ट पार्टी आजका समाजवादी कार्यभार बोक्न सक्ने हुनु पर्छ । हामीले नेकपा एमालेको आठौँ महाधिवेशनदेखि नै यस विषयमा प्रश्न गर्दै आएका हौँ । पार्टीको नवौँ महाधिवेशनले केही महत्त्वपूर्ण सैद्धान्तिक निर्णयहरू गरेको थियो । तर नेतृत्वमा आएको घोर व्यक्तिवादी, दक्षिणपन्थी गुटले पार्टीलाई योजनाबद्धरुपमा विचार शून्य चाकरीवाजहरुको जत्थामा रूपान्तरित गर्दै गयो ।’
भुसालले अहिलेको अवस्थामा कम्युनिस्ट पार्टीहरू बिदा हुनुपर्ने नेताहरूका कारण विभाजित हुन पुगेको बताए ।
उनले भने, ‘लामो समयदेखि गलत नेतृत्वले अराजनीतिक बनाएको कार्यकर्ताको ठूलो पङ्क्ति अहिले निराश छ, अर्को ठूलो पङ्क्ति आत्मरक्षा वा आत्मस्वार्थको कारणले यो वा त्यो पार्टी वा नेताको पछाडि लागेर सुरक्षा खोजिरहेको छ । तर सबै पार्टीहरू, खास गरी वामपन्थी पार्टीहरू तीव्रताका साथ विघटनतर्फ जाँदैछन् । यस अवस्थामा समाजवादी क्रान्तिको विषयमा जिम्मेवारीपूर्वक सोच्नेहरू तत्कालका लागि कम हुनेछन् ।’





प्रतिक्रिया