न्युयोर्कको मेयरमा जोहरन माम्दानी निर्वाचित


बीबीसी । ३४ वर्षीय जोहरन माम्दानी अमेरिकाको न्युयोर्क सिटीको मेयरमा विजयी भएका छन् । पूर्वगभर्नर एन्ड्र्यू कुओमो र रिपब्लिकन उम्मेदवार कर्टिस सिल्वालाई हराउँदै माम्दानी विजयी भएका हुन् ।

उनी सन् १८९२ यताका सबैभन्दा युवा, पहिलो मुस्लिम र अफ्रिकामा जन्मिएका पहिलो मेयर बनेका छन् । उनका नीतिहरू-निःशुल्क बाल हेरचाह, सार्वजनिक यातायात विस्तार र बजारमा सरकारी हस्तक्षेपले डेमोक्र्याटिक पार्टीको वाम धारलाई पुनः उत्साहित पारेको छ ।

तर, अब उनको अगाडि ठूला चुनौतीहरू छन् । गभर्नर क्याथी होचुलले उनको करवृद्धिको योजनामा असहमति जनाइसकेकी छन् । साथै, ठूला व्यापारिक वर्गसँग समझदारी बिना उनले नीति लागू गर्न कठिन हुनेछ । अब उनको प्रमुख जिम्मेवारी शहरको वास्तविक समस्या– असमानता, अपराध दर र आर्थिक समाधान गर्नु हुनेछ ।

ममदानी राजनीतिमा आउनु अघि हिप–हप र्यापर थिए। उनको चर्चित गीत ‘काण्डा‘ युगान्डामा निकै भाइरल भएको थियो, जसमा कम्पालाको जीवन र युवाहरूको संघर्ष चित्रण गरिएको थियो । कलेज सकेपछि उनी क्वीन्समा बसाइँ सरे र प्रवासी, भाडामा बस्नेहरू र ब्ल्याक लाइभ्स म्याटर आन्दोलनमा सक्रिय भए।

सन् २०१७ मा उनले डेमोक्र्याटिक पार्टीमार्फत राजनीतिक यात्रा सुरु गरे । सन् २०२० मा उनी न्युयोर्क स्टेट असेंबलीमा निर्वाचित भए र २०२२ तथा २०२४ मा निर्विरोध जिते । आफ्नो कार्यकालमा ममदानीले सर्वसाधारणसँग प्रत्यक्ष सम्बन्ध राख्ने मुद्दा उठाए, जसले उनलाई निकै लोकप्रिय बनायो ।

उनले सार्वजनिक यातायात निःशुल्क गर्न माग गरे । ममदानीले चुनाव प्रचारमा शहरको बढ्दो बसोबास खर्चलाई मात्र मुद्दा बनाएका छैनन्, साथै धनीहरूमाथि कर लगाएर गरीब वर्गका लागि आवास योजनाहरू दिने वाचा समेत गरेका छन्।