केन्टकीमा इन्धन बोकेको कार्गो विमान उडान भरेको केही समयमै दुर्घटना


रोयटर्स । अमेरिकाको केन्टकीको लुइसभिलमा कार्गो विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । उडान भरेको केही समयमै विमानमा आगो लागेर ठूलो विस्फोट भएको केन्टकीका गभर्नर एन्डी बेशियरले जानकारी दिएका छन् ।

गभर्नर बेशियरका अनुसार केही व्यक्तिहरू गम्भीर घाइते भएका छन् र हताहतको संख्या अझ बढ्न सक्ने सम्भावना छ ।

उद्धारकर्मीहरूले विमानस्थल नजिकै अझै बलिरहेको आगो निभाउने प्रयास गरिरहेका छन्।
तीन इन्जिनयुक्त उक्त विमान ८ घण्टा ३० मिनेट लामो उडानका लागि हनोलुलु जाँदै थियो । विमानमा तीन चालकदलका सदस्य सवार रहेका थिए र फेडेरल अधिकारीहरूका अनुसार सबै मृत भएको आशंका गरिएको छ ।

भिडियोमा विमानको पखेटामा आगो लागेको देखिएको र केही क्षणमै ठूलो आगोको गोलामा विस्फोट भएको देखिएको थियो । दुर्घटनापछि रनवे नजिकैको औद्योगिक क्षेत्रका धेरै भवनमा आगलागी भएको र कालो धुवाँ आकाशमा उडिरहेको जनाइएको छ। कार्गो विमानले एक लाख ४४ हजार लिटर इन्धन बोकेको बताइएको छ

विमान नोभेम्बर ४ का दिन स्थानीय समय अनुसार बेलुका ५ः१५ बजे लुइसभिल मोहम्मद अली अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेपछि दुर्घटनाग्रस्त भएको हो।