काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले आग्रह, पूर्वाग्रह त्यागेर छलफलमा बस्न आग्रह गरेकी छन् ।
मंगलबार सामाजिक संजालमार्फत झाँक्रीले धैर्यताका साथ संवाद जारी राख्न आग्रह गरेकी हुन् । पार्टी अध्यक्ष माधव नेपालले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गरेसँगै झाँक्री असन्तुष्ट छिन् ।
सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भूसाल, झाँक्रीलगायतका नेताहरुले माओवादीमा नजाने बताइसकेका छन् ।
झाँक्रीले भनेकी छन्, ‘कमरेडहरू, राजनीतिक जीवनमा उतारचढाव त आउँछ नै। हरेक मान्छेमा वैचारिक भिन्नता हुन्छ । विचारमा मतभेद हुन्छ । कार्यशैली फरक हुनसक्छ । हरेक अवस्थालाई व्यवस्थापन गरेर अगाडि बढ्नसक्ने र देशको तत्कालीन अवस्थालाई बुझेर सही निर्णय लिनु नै नेतृत्वको मापन हो । त्यसकारण हाम्रा बीचमा कयौँ मतभेदहरू होलान्, त्यसको बाबजुद हामी सबै छलफलमा बसौं । आग्रह/पूर्वाग्रह त्यागौं । यो आन्दोलनलाई सही दिशामा पुर्याउँ । हतार गर्नुपर्ने कुनै कारण छैन। धर्यताका साथ संवाद जारी राखौं। हामीले लिन खोजेका निर्णयहरू नै सही निर्णय हुन्। आजको आवश्यकता पनि यही हो। तर निर्णयमा पुग्न केही समय लाग्न सक्छ नि !’

प्रतिक्रिया