वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्क सिटीका मेयर पदका लागि एन्ड्र्यु क्युओमोको समर्थन गरेका छन् । उनले वामपन्थी उम्मेदवार जोहरान ममदानीलाई मत नदिन मतदातालाई आग्रह गरेका छन् । उनले ममदानी निर्वाचित भए न्युयोर्क सिटीको संघीय सहयोग कटौती गर्ने चेतावनीसमेत दिएका छन् ।
उनले भने, ‘तपाईंलाई क्युओमो मन परोस् वा नपरोस्, तपाईंको कुनै विकल्प छैन। उहाँलाई मत दिनुपर्छ र उहाँले राम्रो काम गर्नुहुने आशा गर्नुपर्छ । उहाँ सक्षम हुनुहुन्छ, ममदानी होइन।’
ट्रम्पको यो टिप्पणीको प्रतिक्रिया दिँदै पूर्व न्युयोर्क राज्यपाल क्युओमोले भने, ‘उनी मलाई समर्थन गरिरहेका छैनन्, उनी ममदानीको विरोध गरिरहेका छन्।’
राष्ट्रपतिले यसअघि नै चेतावनी दिएका थिए कि ममदानी विजयी भएमा न्युयोर्क शहरलाई न्यूनतम संघीय सहयोग मात्र उपलब्ध गराइनेछ।
ताजा जनमत सर्वेक्षणअनुसार डेमोक्र्याटिक उम्मेदवार ममदानी स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लडेका क्युओमोभन्दा अगाडि छन् । रिपब्लिकन उम्मेदवार करटिस स्लिवा भने पछाडि परेका छन् ।
यसअघि आइतबार एक टेलिभिजन अन्तर्वार्तामा ट्रम्पले ममदानीलाई ‘कम्युनिस्ट भन्दै गलत टिप्पणी गरेका थिए। चालु आर्थिक वर्षमा न्युयोर्क सिटीले ७.४ अर्ब अमेरिकी डलर (५.७ अर्ब पाउन्ड) संघीय सहयोग पाएको छ ।

प्रतिक्रिया