बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले चार करोडभन्दा बढी अमेरिकीलाई दिइँदै आएको खाद्य सहायताअन्तर्गत खानेकुराको मात्रा घटाउने जनाएको छ ।
अमेरिकी संसद् कङ्ग्रेसको माथिल्लो सदन सिनेटबाट बजेट पास गर्ने प्रयास विफल भएपछि अमेरिकामा उत्पन्न भएको ’गभन्र्मन्ट शटडाउन’ तत्काल समाधान हुने सङ्केत देखिएको छैन ।
गत ३० सेप्टेम्बरको मध्यरातदेखि औपचारिक रूपमा सुरु भएको ‘शटडाउन’ले यो साताबाट हालसम्मकै लामो अवधि पार गर्दै छ । अमेरिकाको कृषि मन्त्रालयले सरकारले अदालतमा पेस गरेको एउटा निवेदनमा आपतकालीन कोषबाट खर्च चलाउनुपर्ने अवस्था भएका कारण अमेरिकीहरूलाई यसअघि दिइएकोभन्दा आधा मात्रै खाद्य सहायता दिइने उल्लेख गरिएको छ ।
न्यायाधीशहरूले ट्रम्प प्रशासनलाई सोमबारसम्म अतिरिक्त पोषण सहायता कार्यक्रमको भुक्तानी योजना पेस गर्न आदेश दिएका छन्। एक महिनाभन्दा लामो समयदेखिको ’शटडाउन’का कारण उक्त कार्यक्रमको कोष अलपत्र परेको छ ।
अमेरिकी राज्यहरूबाट प्रदान गरिने यस्तो सुविधाको रकम सङ्घीय सरकारले उपलब्ध गराउँछ। तर १ अक्टोबर बाट यो कोषमा रकम निकास भएको छैन । राज्यहरूले सोमबार बेलुकासम्म घटेको कोषबाट कसरी सहायता वितरण गर्ने भन्नेबारे स्पष्टता पाउने छन् ।
मासचूसिट्स र रोड आइल्यान्डका सङ्घीय न्यायाधीशहरूले पोषण कार्यक्रमको आंशिक भुक्तानीका लागि आपतकालीन कोषबाट कृषि मन्त्रालयलाई ५.२५ अर्ब अमेरिकी डलर प्रयोग गर्न आदेश दिएका छन् ।
पोषण कार्यक्रमको पूर्ण भुक्तानीका लागि प्रतिमहिना आठ अर्ब अमेरिकी डलर खर्च हुन्छ । यसअघि राष्ट्रपति ट्रम्पले आफूले सरकारी वकिलहरूलाई वैध रूपमा पोषण कार्यक्रमका लागि खर्च गर्ने बाटोबारे अदालतलाई सोध्न भनेको बताएका थिए।

प्रतिक्रिया