काठमाडौं । बञ्चरेडाँडामा फोहोर फाल्ने विषयमा सहमति जुटेको छ । आइतबार बिहान बञ्चरेडाँडा पुगेका सहरी विकासमन्त्री कुलमान घिसिङले स्थानीय बासिन्दासँग १५ दिनभित्र माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि सहमति जुटेको हो ।
मन्त्री घिसिङको प्रतिबद्धतापछि फोहोर फाल्न दिन स्थानीयबासी सहमत भएका छन् । ककनी गाउँपालिका ३ का अध्यक्ष घननाथ बजगाईले मन्त्री घिसिङले १५ दिनभित्र माग पूरा गर्ने प्रतिबद्धता जनाएको जानकारी दिए । उनले तत्काल गर्न सकिने कामहरूबारे छलफल हुने र सूची तय गरिने बताए ।
स्थानीयबासीले बन्चरेडाँडा वरपर २५ सय मिटरको मध्यवर्ती क्षेत्र तय गर्नुपर्ने, फोहोरको वैज्ञानिक व्यवस्थापन गर्नुपर्नेलगायत माग गर्दै आएका छन् ।
स्थानीयले फोहोर विसर्जनले हुने वातावरणीय प्रदूषण, पानीका मुहानमा असर, स्वास्थ्य जोखिम र सडक अवरोधजस्ता समस्या हुँदै आएको भन्दै ती समस्या समाधान नहुन्जेलसम्म फोहोर फाल्न नदिने भन्दै अवरोध गर्दै आएका थिए । त्यसपछि मन्त्री घिसिङ आइतबार बिहान स्थानीयबासीसँग छलफल गर्न बञ्चरेडाँडा गएका थिए ।

प्रतिक्रिया