काठमाडौं । काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा देखिएको समस्या समाधानका लागि सहरी विकासमन्त्री कुलमान घिसिङ आइतबार बिहानै बन्चरेडाँडा ल्यान्डफिल्ड साइटको अनुगममा पुगेका छन् ।
केही दिनदेखि स्थानीयले बन्चरेडाँडा ल्यान्डफिल्ड साइटमा फोहोर फाल्न अवरोध गरेपछि मन्त्री घिसिङ समस्या समाधानका लागि बन्चरेडाँडा ल्यान्डफिल्ड साइटको अनुगमनमा पुगेका हुन् ।
आफूहरुसँग यसअघि भएका सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयले फोहोर व्यवस्थापनमा अवरोध गरेपछि मन्त्री घिसिङ त्यहाँ पुगेका हुन् । स्थानीयले शुक्रबारदेखि फोहोर बोकेको गाडीहरुलाई ल्याण्डफिल्ड साइटमा जान दिएका छैनन् ।
समस्या समाधानका लागि शुक्रबार मन्त्रालयमा वार्ता भएपनि निष्कर्षविहीन भएको थियो । २०७९ जेठ २६ मा काठमाडौं महानगरपालिकासँगको १८ बुँदे सहमतिमा फोहोर विसर्जन रातको समयमा मात्र गरिने, दुर्गन्ध नआउने प्रबन्ध मिलाउने, फोहोर बोकेका गाडीले लिच्चड नचुहाउने र फोहर विसर्जन पश्चात लिच्चड खोलामा जान नदिन वैज्ञानिक व्यवस्थापन गर्नुपर्ने सहमति थियो । तर त्यो सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् ।
फोहोर व्यवस्थापनमा अवरोध भएपछि महानगरपालिकाले फोहोर घरबाहिर ननिकाल्न महानगरवासीलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया