काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो तीन दिनयता सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ । गत आइतबार एकै दिन प्रतितोला ११ हजार छ सयले घटेर दुई लाख ४१ हजार ९०० रुपैयाँ कायम भएको सुनको मूल्य सोमबार पुनः तोलामा दुई हजार घटेर दुई लाख ३९ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।
मंगलबार फेरि प्रतितोला दुई हजार ९०० घटेपछि दुई लाख ३७ हजार रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यसैगरी आज चाँदी प्रतितोला ६० रुपैयाँले घटेर दुई हजार ९२० रुपैयाँमा किनबेच हुनेछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ९७५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया