भविष्यको वहस


-डा. गोविन्द एस उपाध्याय ।

नेपालमा बहस छ । प्रत्यक्ष निर्वाचनको पक्षमा । प्रतिनिधिमूलक निर्वाचनको पक्षमा । प्रत्यक्षले भन्छ ः राष्ट्रपतिका लागि जनताले प्रत्यक्ष भोट दिनुपर्छ । अहिकेको व्यवस्था प्रतिनिधिको हो । जनताले प्रतिनिधि चुन्छन् । प्रतिनिधिले प्रधानमन्त्री । प्रधानमन्त्रीले मन्त्री । प्रधानमन्त्री शक्तिशाली हुन्छ । प्रधानमन्त्री भन्दा संसद शक्तिशाली हुन्छ । महाभियोगले हटाउन सकिन्छ । बहुमत नपुगे हट्नुपर्छ । संसदप्रति जवाफदेही हुनुपर्छ । मैले बुझेको यही हो । प्रत्यक्षमा जनताले भोट दिन्छन् । राष्ट्रपति वा प्रधानमन्त्रीको पदका लागि । सांसदले राष्ट्रपति चुन्दैनन् । प्रधानमन्त्री पनि चुन्ने व्यबस्था हुँदैन । दूवै अवस्थामा मन्त्रिहरू कार्यकारीप्रति जिम्मेदार हुन्छन् । यसमा पनि महाभियोग हुन्छ । ७५% सांसदले अविश्वास गरे कार्यकारी हट्छ । बेलायत, अमेरिका, चीनमा प्रत्यक्ष निर्वाचन हुन्छ । केही नेपाली यस्तै चाहन्छन् । बेलायतमा प्रधानमन्त्री हुन्छन् ।

तर यहाँ अर्को समस्या छ । प्रत्यक्ष कार्यकारी व्यवस्थामा बहुमत आवश्यकता पर्छ । धेरै दल भएको प्रणालीमा जटील हुन्छ । भोट संख्याको ५१% मा प्राप्त गर्नैपर्छ । प्रत्यक्षमा थोरै दल हुन्छन् । बहुमत न आउँदासम्म प्रतिस्पर्धा चल्छ । प्रत्यक्षमा जाँदा धेरैदल थोरै हुन्छन् । प्रत्यक्ष र अप्रत्यक्ष दूवै व्यवस्था हुन् ।

नेपाल जटील छ । जनता धेरै पार्टीमा विभाजित छन् । सबैको आ–आफ्नो एजेण्डा छ । सबैले सत्ता प्राप्त गर्न चाहन्छन् । सबैले आफ्नो प्रतिनिधित्व चाहन्छन् । नेपाली संबिधान यस्तै छ । मान्छेहरू महत्वाकांक्षी भएका छन् । नेता बनाउने फ्याक्ट्री नै खुलेको छ । जतासुकै नेतानै नेता छन् । राजनीति व्यापार बनेको छ । राजनीति जागिर बनेको छ । मान्छेहरू सुखका लागि नेता बन्न इच्छुक छन् । मान्छेहरू ठग्नका लागि नेता बन्दै छन् । मान्छेहरू इजी मनीका लागि नेता बन्दैछन् । मान्छेहरू विलासी जीवनका लागि नेता बन्दै छन् । कमिसन र श्रमविनाको पैसा नेताको आकर्षण हो ।

प्रत्यक्ष चुनिएको व्यक्ति धेरै शक्तिशाली हुन्छ । अमेरिकाको राष्ट्रपतिझैं बलियो हुन्छ । नेपालीले समानुपातिकताको कुरा गर्छन् । अधिकारको कुरा गर्छन् । समस्यामा सम्बादको कुरा गर्छन् । कार्यकारी प्रमुख प्रत्यक्ष लिडर हुन्छ । जनताले तानाशाह बन्ने शक्ति दिएका हुन्छन् । नेपालीलाई त्यो धान्न सजिलो हुँदैन । सुन्न लोकप्रिय लाग्छ । व्यबहारमा निकै जटील हुन सक्छ । ओली, देउवा, प्रचण्डलाई तानाशाह भन्नेहरू छन् ।व्याबहारिक रूपमा यी तानाशाह बन्न सक्दैनन् । तर प्रत्यक्षलाई रोक्ने कुनै हुँदैन । सबै उसैको नियन्त्रणमा हुन्छन् ।

कुन ठीक कुन वेठीक ? भन्न सकिन्न । खेल माइण्ड–सेटमा हुन्छ । असल मान्छे परे असल हुन्छ । खराव परे ५ वर्ष कसैले रोक्न सक्दैन । असल र खरावको भविष्यवाणी गर्न सकिन्न । अहिलेसम्म माइण्ड–सेटमा विश्वास गर्न सकिने कुनै नेता छैन । जुनसुकै नेता विरुद्ध अर्को नेता छ । भगवान् नै नेता बने पनि अविश्वास गरिने छ । मान्छेको मनमा अविश्वास बलियो छ । जुन जोगी आए पनि कानै चिरेको विश्वास बलियो छ । विश्वास जगाउने काम जटील छ । यही जटीलताको भूमरीमा नेपाली छन् । प्रत्यक्ष कार्यकारीको लागि को योग्य होला ? प्रश्न जटील छ । समस्या अविश्वास र विश्वासको छ । जनता स्थायित्व चाहन्छन् । जनता विकास चाहन्छन् । जनता जीवनमा सुधार चाहन्छन् । यही सुधार छैन । नेतृत्वहरू ‘आफ्नावादी’ छन् । यहीं समस्याको जड छ ।

प्रत्यक्षकार्यकारी जादुको लौरो होइन । लोकतन्त्रवादीहरूले जादुको छडी देखाएर परिवर्तन खोजे । परिवर्तन फेल भयो । मान्छे निराशामा भरिए । जनताले आशा गरिरहे । नेताले आश्वासन दिइरहे । निराशाको विस्फोट भयो । नेता मान्न तयार छैनन् । उनी अझैं आश्वासन दिन चाहन्छन् । हामी विकास गर्दैछौं, हामी जीवनशैली बदल्दै छौँ – तर केका आधारमा पत्याउने ? समस्या मात्रै देखाएर समस्या समाधान हुँदैन । नेताहरू यही चुकेका हुन् । प्रत्यक्ष र अप्रत्यक्ष बहसको विषय हो । मूल कुरा माइण्ड–सेटको हो । नेता जनताको सेवक हो – विश्वको सबैभन्दा ठूलो झूट यही हो । नेपालका हकमा झन् बढी भयो । विस्फोटको कारण पनि यही बन्यो ।

म भन्छु – माइण्ड–सेट बदलौं । आफ्नावादको माइण्ड–सेट । नेतावादी माइण्ड–सेट । भष्ट्राचार गर्ने माइण्ड–सेट । विदेशी भक्तिको माइण्ड–सेट । अविश्वासको माइण्ड–सेट । आफुमात्रै असल हुने माइण्ड–सेट । आश्वासन दिने माइण्ड–सेट । झुक्याएर शक्ति प्राप्त गर्ने माइण्ड सेट । सित्तैवादको माइण्ड–सेट । यी सबैको अन्त्य कसरी गर्न सकिन्छ ? यसमा काम गर्न जरूरी छ । नेपाल बन्छ तर माइण्ड–सेट वदलिनु पर्छ । कुरा ठूला होइन । काम ठूलो गरौँ । मान्छेहरू विश्वास गर्छन् । अनि, प्रत्यक्ष होस् वा अप्रत्यक्ष दूवैले सम्मान प्राप्त गर्ने छन् ।

अहिले मभित्र एउटा डर छ । भित्री त्रास छ । आन्दोलन आयो । नेपाल जल्यो । मान्छेहरूको असहिष्णु व्यबहार उदाङ्गो भयो । लुटेराहरू जुर्मुराए । असलहरूले रोक्न सकेनन् । असल भन्नेहरू बोइलर कुखुरा ठहरिए । देख्न, सुन्न र बोल्न राम्रा । व्यबहारमा काँचा । भीड बोलाए । नियन्त्रण गर्न जानेनन् । देश अराजक बन्यो । भविष्य जोखिमपूर्ण छ । टोले गुण्डाहरू । जातिवादी गुण्डाहरू, भाषावादी गुण्डाहरू, क्षेत्रवादी गुण्डाहरू, धर्मपरिवर्तन गराउने गुण्डाहरू सक्रिय हुने छन् । सित्तैवादको मीठो स्वादमा पल्किने छन् । अनि, अनन्त द्वन्दमा हामी फस्ने छौँ । कमजोरहरूमा सबै खेल्छन् । धेरै राष्ट्रहरू हाम्रो कमजोरीमा खेल्ने छन् । माइण्ड–सेट परिवर्तन गरौँ । अगतिलो भविष्यवाणी असफल होस् ।

यो गनगन पढ्ने हिक्मत गर्नुभएकोमा धन्यवाद । तपाईंलाई सुनको माला । मलाई फुलको माला । कथा मानेर पढ्नेहरू यथास्थितिवादमा रमाउने छन् । कर्म मानेर पढ्नेहरू काममा लाग्ने प्रयत्न गर्लान् । म निराश छैन । निराशाको पक्ष पोषण गर्दिन । तर माइण्ड–सेट परिवर्तन गर्न सजिलो हुँदैन । किनभने माइण्ड–सेट नै स्वार्थले भरिएको छ । वाहिर केही बोल्छ, भित्र केही गर्न प्रेरित गर्छ । सोच्ने केही । बोल्ने केही । गर्ने अर्को । अव यो माइण्ड–सेट कमजोर हुनैपर्छ ।
जय नेपाल