निर्वाचनका लागि प्रधानमन्त्रीले तत्काल गर्नुपर्ने काम


-डा. युवराज संग्रौला ।

जसले जे भनोस्, प्रधानमन्त्री सुशीला कार्कीको राष्ट्रप्रतिको निष्ठामा कसैले शंका गर्नुपर्दैन । तर, सत्तामा रहेका व्यक्तिका वरिपरि मैकैबारीमा बाँदर घुमेझैं, दोग्ला मानिसको घुइँ चो लाग्छ। प्रधानमन्त्रीलाई मेरा केही सुझाव छन्ः

१. थुप्रै हातहतियार लुटिएका छन् । प्रहरीको मनोबल कमजोर छ। उनीहरुमा केही महिनापछिको निर्वाचनमा सुरक्षा दिने मनोबल छैन । लुटिएका हातहतियार निर्वाचनमा प्रयोग हुन सक्छन् । अतः आन्दोलनकारी नवयुवाहरु, सार्वजनिक बौद्धिक, व्यवसायी र मानव अधिकारकर्मी र राजनीति दलका प्रतिनिधिसहित एउटा गोलमेच गरि निर्वाचनलाई जेठमा सारी स्वच्छ निर्वाचनको व्यवस्था गर्नु राम्रो हुन्छ।

२. उद्यमीहरु र उद्योगपतिमा मनोत्रास व्याप्त छ । सयौं होटलहरु जलाइएका छन्, निजी लगानीका स्कुलहरु जलाइएका छन् । अपराधीले सडकमै लुट्न थालेका छन् । जेनजीका नाममा धम्क्याएर चन्दा असुल्ने अपराध बढेका छन् । प्रधानमन्त्रीले उनीहरुलाइ पुनःउत्पादन र सेवा व्यापारमा सकृय पार्नुपर्छ ।

३. आन्दोलनहरु सुधार परिवर्तनका लागि हुन्छन् । त्यस्ता आन्दोलनले २०४६ सालमाझैं नागरिकमा उत्साह भर्नुपर्छ । अहिले निरासा र त्रासको बादल छ। राष्ट्रिय एकता निर्माण गरि राष्ट्रिए अखण्डताको संरक्षण गर्नुपर्छ।

४. खुल्ला समाज र जनतासँग जोडिएका राजनीति संगठनहरुलेनै राज्यमा स्थायीत्व निर्माण गर्छन् । एकथरीलाई निषेध गरेर अँध्यारोमा राजनीति गर्नेहरुबाट देश अगाडि कदापी जाँदैन । हामी बुद्धको करुणा र शान्तिको सिद्धान्त मान्ने मानिस हौं । समताले मात्र यस्तो अवस्था निर्माण गर्छ। अतः राष्ट्रलाई मूल्यहीन होइन मान्यताको मार्गमा नै हिंडाउनुपर्छ । दण्डहीनता स्वीकार्य हुन्न तर स्वेच्छाचारिता अस्वीकार्य हुन्छ । अतः डढाइएका अदालत, सरकारी वकिल र प्रहरीका कार्यलयलाई उद्धार गरी न्याय प्रणालीलाई बाटोमा ल्याउनु आवश्यक छ ।

यी केही तत्काल गर्नुपर्ने कुरा हुन् । आमनागरिकले परिवर्तनले चाहेको नयाँ राजनीतिको उदयका लागि नयाँ वातावरण तयार गर्नुपर्छ । अबको नेतृत्व नव युवाहरुले नै गर्ने हो । तर धेरै कुरा सिक्नुपर्छ बुझ्नुपर्छ । यो बाटो समात्नुको विकल्प छैन । राजनीतिमा सत्ता र विकल्पका नाममा षड्यन्त्रले फेरि पनि मौका नपाओस् । प्रधानमन्त्रीले नयाँ इतिहास निर्माण गर्ने अवसर पाउनुभएको छ । यो पूरा होस् ।