हाम्रा सडक


रञ्जनकुमार दाहाल ।

झण्डै ३ वर्ष पछि नारायणघाट बुटवल सडकमा आफैंले ड्राइभिङ गरें । यसपाली हाम्रो सडकको प्रगति बुझ्न आफ्नै ड्राइभिङमा काठमाडौँदेखि पश्चिम कोहलपुरसम्मको यात्रामा छु । तीनदिनमा काठमाडौँदेखि प्यूठान र बुटबलको आउजाउ गर्दा झण्डै ९०० किलोमिटर ड्राइभिङ सकेको छु । एक हजार किलोमिटर अरु बाँकी छ । मेरा आजसम्मको हाम्रा सडकको बुझाई यस्तो रह्योः

१. यही गतिमा काम हुने हो भने नागढुगादेखि मुग्लिनको सडक बन्न अरु ३–४ वर्ष लाग्ने देखिन्छ । तत्काल काम चाँडो सक्ने योजना बनाउँ ।

२. मुग्लिनको पहिरोहरुमा काम शुरु गराउन जरुरी छ । ढिलो नगरौ– डिजाईन र निर्माणमा ध्यान दिउँ । यो सडकले हामीलाई अति गिज्यायो ।

३. नारायणघाट बुटबल सडकमा मन्त्रीज्यू आफैं दुम्कीबास मा १५ दिन जति बसेर कामको रेखदेख नगरे दाउन्ने खण्ड यो साल पनि बनिसक्ने देखिदैन । निर्माणकर्ताले कर्मचारी साथीहरु निरीह पारिएको प्रष्ट देखिन्छ । दाउन्ने खण्डमा घण्टाको सेड्युलमा काम गरौं । नत्र अर्को साल वर्षामा पनि उस्तै हुन्छ । अन्य क्षेत्रमा एक लाईन सडक बनिसकेको हँुदा, भैरहवा पुग्न नारायणगढबाट २ः३० मिनेट लाग्यो । दाउन्ने को ९ किलोमिटर पार गर्न ४५ मिनेट लाग्यो । अन्त कुनै कुनै ठाउँमा १२० किलोमिटर प्रतिघण्टामा पनि गुडाएँ ।

४. नारायणघाट बुटवल सडक फराकिलो भयो र चारै लेन बनेको ठाउँमा फराकिलो सडक भएर स्थानीयहरुले सडक सुरक्षाको वास्ता नगरेको पाएँ । अब, नारायणघाट बुटवल सडकको सबै पालिकामा सडक सुरक्षा सम्बन्धित ज्ञान दिन कार्यक्रम शुरु गर्नुपर्ने देखियो । स्कुल पाठ्यक्रममै सिकाउँ । चालकहरुलाई ४ लेन र ६ लेनमा कसरी गाडी हाँक्ने थाहा छैन । निर्माण सकिएका ठाउँमा सडक सुरक्षाका साईन बोर्ड राखौ ।

५. देउखुरीमा भालुवाङ – नर्ती खण्डमा टाइमकार्ड लगाएर १३ किलोमिटरको यात्रा गराइने गरेको ठिक लागेन । दुर्घटना घटाउन त्यसो गरेको भनिए पनि स्थानीयहरुको सडक सुरक्षामा ज्ञान बिलकुल छैन । उनीहरुको मनपरि छ सडकमा । चालकलाई मात्र नियममा बाँधेर हुँदैन । वैकल्पिक सोच चाहियो । निषेधले समाधान होइन विद्रोह ल्याउँछ ।

६. नारायणघाट बुटवल सडकमा यही गतिमा काम गरे दुबैतर्फको सडक बनिसक्न अरु ५ वर्ष लाग्ने देखिन्छ । यसको लागि तत्काल नयाँ सोचबाट काम गराउँ ।

७. भैरहवा–तौलिहवा–बहादुरगन्ज हुलाकी सडकमा स्थानीयहरुको सडक सुरक्षा ज्ञान शून्य बराबर छ । पालिकामार्फत सचेतना कार्यक्रम शुरु गरौं । भैरहवा–तौलिहवा सडकमा पटहोल बढेको छ ।

८. बहादुरगन्ज–चन्द्रौटा सडकमा स्थानीयहरुको सडक सुरक्षा ज्ञान शून्य बराबर छ । याहाँ पनि पालिकामार्फत सचेतना कार्यक्रम शुरु गरौँ ।