जो पनि एजेन्ट, जो पनि दलाल, जहाँ पनि षड्यन्त्र !


-सुमना श्रेष्ठ ।

खाँटी राष्ट्रवादी राजा महेन्द्रको नाम बोकेको महेन्द्रमालामा पढेको – ‘विविधतामा एकता’ । राम्रो सुनिनलाई मात्र रहेछ । व्यवहारमा चैं आँखा चिम्सो देख्यो – तिब्बती शरणार्थी, छाला कालो देख्यो – बिहारी, उहाँहरूको नागरिकता नक्कली, पक्कै पैसा खुवाएर निकालेको हुनै पर्छ भनिहाल्ने । कहिले सुदनको नागरिकतामा प्रश्न उठाएको छ, कहिले टासीको, असली नेपाली भनेको को हो त ?

विदेशमा कसैले ‘Are you Indian’ भनेर सोध्दा कतिलाई रिस उठेको छ ? ‘नेपाली’ जस्तो नदेखिनेलाई आफ्नै देशमा नागरिकताको आधिकारिकता पुष्टि गर्न पर्दा कस्तो हुन्छ ? देउवाले अक्सफोर्डमा पढेको मान्छे किन चाहियो भनेको पनि ठिक रहेछ हैन त उसो भए, विदेशी विश्वविद्यालयमा पढ्ने बित्तिकै त्यहीँको खुफिया एजेन्ट हुने रहेछ त । राजा वीरेन्द्र पनि इटन पढेका, उहाँ पनि बेलायती एजेन्ट ? यसरी अपमान गर्ने, जति खेर पनि राष्ट्रियताको अग्निपरिक्षा लिराख्ने भए विदेशमा पढेर कोही किन फर्कन्छ ? अहिले हरेक परिवारको कोही न कोही विदेश गएको छ। पश्चिमा देशमा गएका र उसको परिवार सब अमेरिकन एजेन्ट, युरोपियन दलाल, खाडीमा काम गर्न गएकाहरूको परिवार इस्लामिक अतिवादीका हिमायतीहरू, भारतमा पढ्न गएका, काममा गएकाहरूलाई भारतीय रअको एजेन्ट मानिदिने हो भने को चाहिँ बाँकी हुन्छ ?

जो पनि एजेन्ट, जो पनि दलाल, जहाँ पनि षड्यन्त्र । अनि हामी पत्याइदिने पनि, भूपिले यो हल्लै हल्लाको देश त्यसै भनेका हैन रहेछन् । हामी साँच्चै आफ्नै बलबुतामा केही केही गर्न नसक्ने निकम्मा नै रहेछौँ त ? यस्तो कसैलाई पनि विश्वास गर्न नसक्ने वातावरण बनाएर आफ्नै देशको मानिसलाई अपमानित गरेर कसलाई फाइदा पुग्छ ? केही कुरा पत्याइहाल्न अगाडि कसले भनेको रहेछ, त्यो मान्छेले पहिले के भनेको रहेछ पनि हेरौँ, हल्ला फैलाउनेहरू पनि परिचालित हुन सक्छन् भन्ने हेक्का राखौँ, आफूलाई शंका लागेको कुरा भटाभट शेयर नगरौँ । हामीले गर्व गर्न लायकको सामाजिक सद्भावलाई बचाइ राखौँ ।