प्रविधि र नवप्रवर्तनसँग सम्बन्धित विषय व्याख्या गर्ने तीन जनालाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार


बीबीसी । अर्थशास्त्रतर्फ यसवर्षको नोबेल पुरस्कार तीन जनालाई संयुक्त रूपमा प्रदान गरिने भएको छ ।

पुरस्कार समितिले ‘नवप्रवर्तनबाट उत्प्रेरित आर्थिक वृद्धिको व्याख्या गरेकोमा’ जोएल माकर, फिलिप एगिअन र पीटर हाउइटलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

समितिका अनुसार उक्त पुरस्कार दुई भाग लगाइएको छ। त्यसमध्ये एक भाग “प्राविधिक उन्नतिमार्फत् हुने दीर्घकालीन वृद्धिका आधारभूत पक्ष पहिचान गर्ने“ माकरले र बाँकी भाग ‘सिर्जनात्मक विनाशमार्फत् दीर्घकालीन वृद्धिको सिद्धान्त’ प्रतिपादन गर्ने एगिअन र हाउइटले पाउने छन् ।

मोकरको जन्म द नेदरल्यान्ड्समा भएको हो। उनी हाल संयुक्त राज्य अमेरिकामा प्राध्यापन गर्छन्। एगिअनको जन्म फ्रान्समा भएको हो। उनी फ्रान्स र यूकेमा प्राध्यापन गर्छन्। हाउइटको जन्म क्यानडामा भएको हो। हाल उनी अमेरिकाको ब्राउन यूनिभर्सिटीसँग आबद्ध छन्।

सन् १९६९ देखि यो विधामा पुरस्कार दिन थालिएको हो। अहिलेसम्म २६ वर्ष एकल विजेता छानिएका छन् भने अरू वर्षमा दुई वा तीन जना संयुक्त रूपमा पुरस्कार दिइएको छ ।

यस विधामा अहिलेसम्म ५७ पटक पुरस्कार दिइएकोमा ९९ जना पुरस्कृत भएका छन्। पुरस्कृत हुनेमा तीन महिला छन्।