-जीवन क्षेत्री ।
धेरै जनाले मलाई यी प्रश्नहरु सोध्ने गर्नुहुन्छ । यी प्रश्नले ममा दोहोरो भावना उत्पन्न गर्छन् । पहिलोः म सञ्जालमा र संचार माध्यमहरुमा लेख्ने गर्छु, भिडियो बनाउने गर्छु त्यसैले तपाइँहरुलाई लाग्छ म केही नयाँ कुरा बताउन सक्छु । अन्योलको समयमा अब के होला भनेर एक अर्कालाई सोध्नु बिल्कुल सामान्य कुरा हो । तपाइँहरुलाई पनि अरु कसैले पक्कै कुनै न कुनै रुपमा यी प्रश्न गरेको हुनुपर्छ ।
दोस्रोः यो देशलाई कतै लैजाने कसले हो? फागुन २१ मा चुनाव गर्ने कसले हो? यसको सही जवाफ होः हामीले ।
तर दशकौंसम्मको दलतन्त्रको मनपरी र सामाजिक सञ्जालमा चलेको षड्यन्त्र कथाहरुको एकछत्र राजले हामीलाई सार्वभौम नागरिकको हैसियतबाट तल झारिदिएको छ । त्यसैले हामी सोच्छौंः यो देशलाई अरु कसैले अघि वा पछि लगिदिन्छ । फागुन २१ मा पनि अरु कसैको योजना वा षड्यन्त्र अनुसार चुनाव हुन्छ वा हुँदैन ।
यी प्रश्नमा कतै पनि मैले तपाइँ प्रश्नकर्तालाई भेट्दिनँ किनकि विषाक्त सुचना प्रवाहले तपाइँ आफैंलाई स्वतन्त्र र सार्वभौम नागरिक हुनुको बोध मेटाइदिएको छ । व्यक्तिका हकमा आफैंले आफैंलाई नगनेर आफुले पार गर्न सक्ने संकटमा समेत निस्क्रिय रहेर डुबिरहने यो प्रवृत्तिलाई फर्जी असहायपन वा learned helplessness भनिन्छ मनोविज्ञानमा ।
जबसम्म जर्ज सोरोस वा बार्बरा फाउन्डेसन वा सिआइए वा एक्सवाइजेडले यो देशका सबै घटना गराउँछन् र आज साँझ अँध्यारो भयो भने अमेरिकी सेना नेपाल छिर्छ भन्ने पाराका भरत दाहाल, सौरभ र टंक दाहालजस्ता मानिसहरुले तपाइँको मस्तिष्क भुटिरहन्छन्, त्यसले सिर्जना गर्ने समाज यस्तै हो ।
उनीहरुका अनुसार ‘यहाँ जे हुन्छ भइछाड्छ, तपाइँ हामीले गर्न केही पनि पर्दैन किनकि हामी गर्न सक्दैनौं र गर्न लायक कर्ता हैनौं ।’ अनि प्रश्न उठ्छः यो देश कता जान्छ? चुनाव हुन्छ कि हुँदैन? स्वभावतः विश्लेषकको भन्दा ज्योतिषहरुको स्कोप बढिहाल्छ देशमा । त्यसैले यो देशको भविष्य मन्थन गर्दै गर्दा प्रश्नहरु पनि सही तरिकाले गर्न सिकौंः देशलाई हामीले कता लैजाँदैछौं? फागुन २१ मा चुनाव गर्न हामी सबैले सक्छौं कि सक्दैनौं ?
कुनै बेला थियो एक राष्ट्रिय घटनाक्रमलाई प्रभावित गर्ने आम नागरिकको क्षमता शुन्य हाराहारी थियो । तर आज त्यस्तो छैन । ‘आज रात पर्यो भने अमेरिकी सेना आउँछ’ भनेर भन्ने व्यक्ति त भरत दाहाल एक्लै हुन् तर उनको बकवास देशभरि फैलाउने तपाइँ हामीजस्ता आम मान्छे हौं । भोलि बिहान ‘खै त?’ भनेर सोध्नको सट्टा उनको उडन्ते षड्यन्त्र कथाको अर्को किस्सा फैलाउने पनि हामी नै हौं ।
त्यसैले फर्जी असहायपन (learned helplessness) को विष देशभरि छर्नमा भरत दाहाल एक्लै दोषी छैनन्, एउटा पूरा इकोसिस्टम छ । उनलाई पोडकास्टमा बोलाएर घण्टौं यस्तै षड्यन्त्र कथाहरुको ब्याड सिर्जना गर्नेहरु पनि दोषी छन् ।
त्यसैले यो देश र समाजलाई अघि बढाउने हो भने तपाइँ हामी आफैंले धेरै आत्ममुल्यांकन र सुधार गर्न बाँकी छ । म अझै पनि विश्वस्त छुः हण्डर ठक्कर खाएर भए पनि नेपाली समाज अघि नै बढ्नेछ । चुनौतीहरु आए पनि फागुनमा चुनाव हुनेछ । तर यो कुनै भविष्यवाणी वा पण्डित्याइँ हैन । समाज पछि फर्कनेभन्दा अघि बढ्ने र चुनाव नहुनेभन्दा हुने सम्भाव्यता बढी छ भनेको मात्रै हो । त्यो सम्भाव्यतालाई अझै बढाएर साँच्चै देश र समाजलाई सफल बनाउने कि ‘हाय सब बर्बाद पारे विदेशीले’ भनेर self-fulfilling prophecy मा लिप्त हुने, त्यो हाम्रो छनोटको कुरा हो ।

प्रतिक्रिया