कृषि विकास बैंकको सिस्टम ह्याक गरी रकम ठगी गर्ने सौजन तामाङ पक्राउ


काठमाडौं । कृषि विकास बैंकको प्रणाली ह्याक गरी रकम ठगी गरेको अभियोगमा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा, टेकुले तार्केश्वर नगरपालिका ५ बस्दै आएका ३६ वर्षीय सौजन तामाङलाई ललितपुरबाट पक्राउ गरेको हो ।

बैंकको मुख्य कार्यालय र शाखा कार्यालय न्यूरोडको वित्तिय प्रणाली ह्याक गरी विभिन्न व्यक्तिहरुको खातामा रकमान्तर गरी तामाङसहितको समूहले भुक्तानी लिएको थियो । यसरी रकमान्तर गरी बैंकलाई हानी पुर्याएको अभियोगमा यसअघि २१ जनालाई पक्राउ गरी कारबाही गरिसकेको महाशाखाले जनाएको छ ।

प्रणाली ह्याक गरी विभिन्न व्यक्तिका नाममा रकमान्तर गर्ने तीन जनालाई प्रहरीले गत असोजमा पक्राउ गरेको थियो । यसका मुख्य योजनाकार अफ्रिकन मूलका नागरिक पिटर रहेको प्रहरीले बताउँदै आएको छ ।