विश्वप्रकाश भन्छन् -जो बदलिन्छन् तिनले नेतृत्व लिन्छन्, जो बदलिँदैनन् तिनले बिदा लिन्छन्(भिडियोसहित)


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान पार्टीको विधान विपरीत नभएको बताएका छन् ।

मंगलबार भिडियो सन्देश जारी गरी महामन्त्री शर्माले पार्टीको विधानमै भएको व्यवस्था प्रयोग गर्दा पार्टीलाई कमजोर नभई बलियो बनाउने बताएका हुन् ।

उनले पार्टीको विशेष महाधिवेशन माग गर्न हस्ताक्षर गर्न चाहनेहरूले असोज २४ गतेभित्रै हस्ताक्षर गर्नुपर्ने बताए ।

उनले भनेका छन्, ‘विशेष महाधिवेशन माग गर्न हस्ताक्षर गर्न चाहनुहुन्छ भने असोज २४ गतेभित्रै गर्नुस् न । किनकी साथीहरूले भन्नुभएको छ– हामी केन्द्रीय कार्यसमितिको बैठक (असोज २६ गते) भन्दा एक दिन अगाडि असोज २५ गते नै हस्ताक्षर केन्द्रीय कार्यालयमा दर्ता गर्न चाहन्छौं। सँगसँगै उभिन चाहनुहुन्छ भने साइत केका लागि पर्खनुहुन्छ?’

उनले नियमित महाधिवेशन गर्न सक्नु नै सर्वोत्तम विकल्प हुने बताएका छन् । नियमित महाधिवेशनले सबै तहले ताजा नेतृत्व पनि पाउने र तलदेखि माथिसम्म युवाहरूको व्यापक सहभागिता बढाउन सक्ने उल्लेख गरेका छन् ।

उनले आफूहरू बदलिने र बदलिएको समयअनुसार कांग्रेस बदल्ने संकल्प गर्नुपर्ने बताए । उनले भने, ‘जो बदलिन्छन् तिनले नेतृत्व लिन्छन्, जो बदलिँदैनन् तिनले बिदा लिन्छन् ।’