काठमाडौं । आईसीसी टी–२० विश्वकपको अभ्यास खेलमा नेपालले लगातार दोस्रो जित निकालेको छ । सोमबारको दोस्रो अभ्यास खेलमा नेपालले कतारलाई १६ रनले हराएको हो ।
यसअघि नेपालले आफ्नो पहिलो अभ्यास खेलमा आयोजक ओमानलाई ६ विकेटले हराएको थियो । दोस्रो अभ्यास खेलमा पहिले ब्याटिङ गरेको नेपालले सात विकेट गुमाएर १७० रनको सम्मानजनक स्कोर तयार पारेको थियो ।
कतारले भने ६ विकेट गुमाएर ५४ रनमात्र बनाउन सक्यो । पहिले ब्याटिङ गरेको नेपालका लागि ओपनर कुशल भुर्तेलले उत्कृष्ट अर्धशतकीय पाली खेले । उनले ५६ रन बनाए ।
यस क्रममा कुशल भुर्तेलले केवल ३३ बलको सामना गरी तीन छक्का र पाँच चौका पनि प्रहार गरे । चौथो नम्बरमा क्रिज समाल्न आएका कुशल मल्लले पनि जिम्मेवारीपूर्वक ब्याटिङ गर्दै अविजित ३८ रनको योगदान गरे । उनले केवल २९ बलको सामना गरी दुई छक्का र एक चौका हिर्काए ।
अलराउन्डर दीपेन्द्र सिंह ऐरीले पनि टोलीको खातामा ३८ रन थपे । पाँचौं नम्बरमा क्रिज समाल्न आएर प्रारम्भदेखि नै आक्रामक रूपमा प्रस्तुत भएका दीपेन्द्रले केवल २१ बलको सामना गरी तीन छक्का र एक चौका प्रहार गरे । ब्याट्सम्यान आरिफ शेखले पनि टोलीको खातामा १३ रन थपे । ओपनर आसिफ शेखले ११ रन बटुले । कप्तान रोहित पौडेल आठ र सन्दीप जोरा एक रनमा पेभेलियन फर्किए ।

प्रतिक्रिया