बीबीसी । दक्षिण कोरियामा राजनीतिक र व्यापारिक फाइदा पाउन तात्कालिक प्रथम महिलालाई घुस दिएको आरोप लागेको विवादास्पद यूनिफिकेशन चर्चकी प्रमुख पक्राउ परेकी छन् ।
हान हाक–जको नेतृत्वमा रहेको सो चर्चमाथि तात्कालिक राष्ट्रपति यून सुक यउलकी पत्नी किम गन हीलाई दुइटा महँगा ’शनेल’ ब्रान्डका ब्याग र एउटा हीराको हार दिएको आरोप लागेको छ। ती सामानको मूल्य ८ करोड वोन (५७,९०० अमेरिकी डलर, ८२ लाख नेपाली रुपैयाँ) पर्छ ।
चर्चका संस्थापक सन म्यङ मूनकी ८२ वर्षीया पत्नी हानले घुस खुवाएको आरोप बारम्बार खण्डन गर्दै त्यसलाई ‘झुटो’भन्दै आएकी छन्। सनको निधन भएपछि यूनिफिकेशन चर्च उनको नेतृत्वमा छ । उक्त चर्चले सम्बन्धित निकायसँग ‘सहकार्य गर्ने’ र ‘चर्चमाथिको विश्वास पुनः स्थापना गर्न यसलाई अवसर मानेर आफूले सक्दो प्रयास गर्ने’ मङ्गलबार जनाएको छ ।
उक्त चर्चले ‘चिन्ता उत्पन्न भएकोमा’ सर्वसाधारण जनतासँग क्षमायाचना पनि गरेको छ । सरकारी अभियोजनकर्ताहरूले हानमाथि विभिन्न चार अभियोग लगाउँदै पक्राउपुर्जी जारी हुनुपर्ने माग गरेका थिए। ती अभियोगमा अनुचित सिफारिस, भ्रष्टाचार र व्यावसायिक हिनामिना पनि पर्छन् ।
हानले सोमबार अदालतमा आफूलाई राजनीतिबारे रुचि र ज्ञान दुवै नभएको भन्दै ती अभियोगहरूको खण्डन गरिन्। उनको उमेर र बिग्रँदो स्वास्थ्यस्थितिको कुरा उठाउँदै उनका वकिलहरूले उनको पक्राउविरुद्ध आफ्नो तर्क पेस गरे ।
हानमाथि सो चर्चका एक पूर्वकर्मचारीसँग मिलेर सन् २०२२ को राष्ट्रपतीय निर्वाचनको पूर्वसन्ध्यामा कन्जर्भेटिभ पार्टीका सांसद क्वन सङ डोङलाई १० करोड वोन दिएको आरोप पनि लागेको छ। त्यो रकम यून राष्ट्रपति बने भने चर्चको एउटा कार्यक्रममा उनलाई सहभागी हुन तयार पार्न दिन खोजिएको बताइएको छ। उक्त निर्वाचनमा यून राष्ट्रपति निर्वाचित भए पनि ।
क्वन तात्कालिक राष्ट्रपति यूनका विश्वासपात्र थिए। उनी गत साता बुधवार पक्राउ परे। यद्यपि उनले घुस लिएको आरोप अस्वीकार गरेका छन् । यूनिफिकेशन चर्चको औपचारिक नाम ‘द फ्यामिली फेडरेशन फर वल्र्ड पीस एन्ड यूनिफिकेशन’ हो ।
आफू ‘मसिहा’ अर्थात् ’ईश्वरको दूत’ भएको दाबी गर्दै दक्षिण कोरियामा मून सन–म्यङले सन् १९५० को दशकमा उक्त चर्चको स्थापना गरेका थिए । उक्त चर्चले सामूहिक विवाह गराउँदै आएको छ। चर्चले आयोजना गर्ने विवाह समारोहमा हजारौँ जोडी एकैपटक सहभागी हुन्छन्। तीमध्ये केहीको जोडी उक्त चर्चमार्फत् मिलेको हुन्छ ।
केही आलोचकहरू उक्त चर्चका अनुयायीहरूको समूह ‘छुट्टै सम्प्रदायजस्तो’ बनेको ठान्छन् । वकिलहरूले उक्त चर्चले आफ्ना अनुयायीहरूलाई ठूलो मात्रामा दान दिन बाध्य पारेको आरोप लगाएका छन्। उक्त चर्चका संस्थापक मूनको नामबाट उनीहरूलाई बोलीचालीको भाषामा ‘मूनी’ पनि भनिन्छ ।
जापानमा पूर्वप्रधानमन्त्री शिन्जे आबेको हत्या भएपछि त्यहाँ यूनिफिकेशन चर्चबारे चर्चा चुलिएको थियो। सन्दिग्ध हत्याराले उक्त सम्प्रदायका कारण आफ्नो परिवार टाट पल्टिएको र आबेले यूनिफिकेशन चर्चको “प्रवद्र्धन“ गरेकाले आफू उनीसँग रुष्ट भएको दाबी गरेका थिए ।
विश्वका विभिन्न देशमा उक्त समूहमाथि प्रतिबन्ध लागेको छ। जापानमा त्यसलाई विघटन गर्न आदेश दिइएको छ । यूनिफिकेशन चर्च नेपालमा सन् १९७५ देखि सक्रिय भएको बताइन्छ ।

प्रतिक्रिया